१३ बैशाख २०८१, बिहिबार

अझै बनेन बेलहिया–बुटवल व्यापारिक मार्ग


butwal

लुम्बिनी, १५ फागुन । पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी शुरु भएकोे बेलहिया बुटवल सडक खण्डको साढे २७ किलोमिटर सडकको स्तरोन्नति निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छैन । विगतमा दुई लेन रहेको सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने उक्त सडकको स्तरोन्नतिको निर्माण कार्यमा ढिलाइ भइरहेको छ ।

उक्त सडकको आव ०६८÷०६९ मा छ लेन गर्नेगरी काम शुरु भएको थियो । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि तोकिएको समयमै काम सम्पन्न नहँुदा सवारी आवतजावतमा समस्या सिर्जना भएको छ । ८० किलोमिटर प्रतिघण्टा गतिमा सवारी साधन चलाउन मिल्ने डिजाइनसहित स्तरोन्नति भइरहेको उक्त सडकको काम भने अत्यन्तै धिमा गतिमा भइरहेको छ । “यही तालले काम हुने हो भने पूरै तयार हुन अझै दुई वर्ष लाग्छ, अञ्चलपुर पडसरीमा त्यतिकै छ, बेलहियामा त्यस्तै छ, बुटवलमा झनै घर भत्काउनै बाँकी छ”, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिवसमेत रहेका स्थानीय बासिन्दा नेत्रप्रसाद आचार्यले भन्नुभयो ।

उक्त सडक खण्डको भैरहवाको अञ्चलपुरदेखि लखनचोकसम्म दुई किलोमिटर ८०० मिटरको सडक, बुटवल चौराहादेखि गोलपार्कसम्मको साढे तीन किमी सडक र बेलहियाको साढे ७०० मिटर बाटो अहिलेसम्म अधुरै रहेको छ । त्यसका अतिरिक्त ठाउँठाउँमा कतै नालाको स्लेप त कतै ¥यालिगङ बाँकी रहेका छन् । भैरहवाको अञ्चलपुरदेखि लखनचोक सडक खण्डको ठेक्का बिरुवा श्रेष्ठ एपेक्स जेभीले जनवरी १२, २०१६ मा ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनीले रु ४३ करोड ६३ लाख ७१ हजार ६३२ मा ११ अगस्त २०१८ मा काम सक्नेगरी सम्झौता गरेको भए तापनि अझै काम बाँकी छ ।

दुवैतिरको सर्भिस लेनको काम भएको छैन । सेलेप लगाउन बाँकी छ । निर्माण सामग्री सडकमै असरल्ल राखिएको छ । उक्त कम्पनीले रु ३९ करोड ९८ लाख ३८ हजार रकम निकासा गरिसकेको आयोजनाका लेखा अधिकृत ईश्वरीप्रसाद देवकोटाले बताउनुभयो । बेलहियाको ७०० मिटर बाटो विस्तारको कामको ठेक्का बिरुवा कन्सट्रक्सनले पाएको छ । यसको कूल ठेक्का रु १६ करोड ८५ लाख ७० हजारको रहेको छ । उक्त क्षेत्रमा एक चौथाइ काम बाँकी नै रहेको छ । तर ठेकेदार कम्पनीले उक्त सडक खण्डको रु चार करोड २४ लाख ५२ हजार रकम निकासा गरिसकेको छ ।

यसैगरी बुटवल चौराहादेखि गोलपार्कसम्मको सडकखण्डको ठेक्का ३० महिनाभित्र सम्पन्न गर्नेगरी द कञ्चनजङ्घा बिरुवा जेभीसँग विसं २०७३ चैत १७ गते (३० मार्च २०१७) मा सम्झौता भएको थियो । उक्त सडकका लागि रु ४१ करोड, ३९ लाख २३ हजार रकमा ठेक्का लागेको थियो । छ लेनको बनाउनुपर्ने उक्त सडक अहिलेसम्म चार लेनको तयार छ भने दुई लेनमा अहिले पनि भौतिक संरचना कायमै छन् ।

आयोजना कार्यालयले बुटवल चौराहादेखि गोलपार्कसम्म सडक सीमाभित्र रहेका घर संरचना हटाउन विसं २०७४ साउन २ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । त्यसलगत्तै साउन ५ गते सम्बन्धित घरधनीहरुलाइ नै पत्र पठाई २०७४ भदौ ५ गतेसम्म समय सीमा दिइ पत्राचार गरिएको थियो । यसरी पटकपटक मौखिक तथा लिखितरुपमा सम्पर्क गरी घर संरचना हटाउन अनुरोध गर्दा अटेरी गर्ने घरधनीलाई अन्तिम पटक भन्दै १५ दिनभित्र हटाउनेगरी विसं ०७४ चैत १२ गते सार्वजनिकरुपमा माइकिङसमेत गरेको थियो । त्यति गर्दा पनि संरचना नहटेपछि एक हप्ताभित्र नहटाए डोजर लगाएर हटाउने भन्दै ०७५ वैशाख ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो ।

सो अनुसार पनि संरचना नहटेपछि ०७५ वैशाख १२ गते डोजर लगाएर संरचना हटाउँदै गर्दा उच्च अदालत तलसीपुर बुटवल इजलासले तत्काल काम स्थगित गर्नु भनी आदेश दिएकाले काम रोकिएको छ । अहिले पछिल्लो समय अदालतले उक्त मुद्दा जिल्ला प्रशासन कार्यालयले मुआब्जा दिनुपर्नेलाई दिनेगरी अगाडि बढाउनु भनी निर्देशन दिएअनुसार जिल्ला प्रशासनमा पुग्यो । यता प्रशासन कार्यालयले सरकारी जग्गामाथि संरचना बनाएकाले मुआब्जा दिन नपर्ने भनी सूचना गरेको देखिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्त भन्नुहुन्छ, “अदालतको निर्देशनअनुसार हाम्रो समितिको बैठक बसी सूचना निकाल्यौँ तर मैले सुनेको छु उहाँहरु जिल्लास्तरीय मुआब्जा समितिको निर्णय स्वीकार्य नभएको भन्दै गृह मन्त्रालयमा जानु भएको छ रे, तर अहिलेसम्म माथिबाट केही आएको छैन ।” उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक सीमा मिचेकामा १०० जनाभन्दा बढीले यसअघि नै घर भत्काइ सडक खाली गरिदिएका छन् ।

पाँच पटकसम्म म्याद थप्दा सम्झौताअनुसारको काम सम्पन्न नगरेपछि बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाले कालिका तामाङ प्यासेफिक जेभीलाई रु तीन करोड ८७ लाख जरिवाना तिरायो । राष्ट्रिय गौरबको आयोजना बेलहिया बुटवल व्यापारिक मार्गअन्तर्गतको सो सडकखण्डमा उक्त कम्पनीले डण्डामा ४० मिटर लम्बाइ र १० मिटर चौडाइको पक्की पुल, डण्डा पुलदेखि सीता नर्सरीसम्म ७०० मिटर बाटो र ब्रमेलीटोलदेखि अञ्चलपुरसम्म एक हजार ४०० मिटर बाटो निर्माण गर्नेगरी सम्झौता गरेको थियो । विसं २०७३ असार ३१ मा सम्पन्न गर्नेगरी पूर्वमन्त्रीसमेत रहेका विक्रम पाण्डेको निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

बाह्र ठेक्का, काममा सुस्तता

बेलहिया बुटवल सडकखण्डको साढे २७ किलोमिटरको सडक निर्माणका लागि १२ वटा भिन्नभिन्न ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेका थिए । जसअनुसार शर्मा दिव्या द कञ्चनजङ्घा जेभी, लुम्बिनी कन्ट्रयाक्टर आशिष जेभी, लामा रायमाझी कञ्चनजङ्घा जेभी, कालिका तामाङ प्यासिफिक जेभी, शर्मा लामा कञ्चनजङ्घा जेभी, टिसीआइएल, कालिका रायमाझी जेभी, भारतीय कम्पनी टिसीआइएल, बिरुवा श्रेष्ठ एपेक्स जेभी, बिरुवा कन्सट्रक्सन, द कञ्चनजङ्घा बिरुवा जेभी, महादेव खिम्ती आसियाटिक महेश जेभीले उक्त सडकको अलगअलग ठाउँमा ठेक्का लिएका थिए । तीमध्ये अन्यले काम सकिसकेको भए तापनि अहिले सम्म विरुवा श्रेष्ठ एपेक्स जेभी, द कन्चनजंघा विरुवा जेभी र विरुवा कन्सट्रक्सनले काम सकेका छैनन् ।

यता आयोजनाको काम नसकिँदै आयोजनाका प्रमुख जीवेन्द्र मिश्राको सडक विभाग काठमाडौँमा सरुवा गरिएको छ । उहाँले हेर्दै आएको काम सडक डिभिजन कार्यालय बुटवलले हेर्दै आएको छ । गौरवको आयोजना हेर्ने कार्यालय अलग हुने भए तापनि निर्माण सम्पन्नमा ढिलाइ भएको उक्त आयोजनाको काम यतिबेला सडक डिभिजन कार्यालयले हेर्न थालेको छ ।

डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले ठेकेदारलाई छिटो गर भनेर अत्ताउनुबाहेक आफूसँग अरु कुनै विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक खरिद नियमावली नवौँ संशोधनअनुसार निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेमा स्वतः एक वर्षसम्म म्याद थप गर्न पाउने नयाँ प्रावधान छ, त्यसैलाई आधार मानेर यतिबेला म्याद थप भइरहेको छ ।” मरासिनीले छुट्टै आयोजना प्रमुखका विषयमा भने तत्कालै आवश्यकता नदेखिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !