१३ बैशाख २०८१, बिहिबार

संरक्षण नहुँदा सिद्धेश्वर शिवालय मन्दिरको अस्तित्व सङ्कटमा


मन्दिर

बागलुङ, ६ माघ । विसं १८१० मा निर्मित सिद्धेश्वर शिवालय मन्दिर जोगाउन गाउँले जुटेका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित मन्दिरको पुनः निर्माणसहित वृहत्तर विकास योजना अघि बढाइएको छ । संरक्षण नहुँदा मन्दिरको अस्तित्व नासिने खतरा थियो ।

“दशवर्षे गुरुयोजना बनाएर काम थालेका छौँ”, मन्दिर संरक्षण परिषद्का अध्यक्ष ज्ञानबहादुर थापाले भन्नुभयो, “जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्यका रुपमा चिनाउने लक्ष्य छ ।” उहाँका अनुसार जीर्ण अवस्थामा पुगेको मन्दिरलाई पुरातात्विक कला, कौशल झल्कने गरी पुनः निर्माण गरिनेछ ।

मन्दिरसहित धर्मशाला, शिवलिङ्ग मण्डप, सभाकक्षलगायतका संरचना बनाइने परिषद्ले जनाएको छ । पूर्वाधार तयारीका लागि जग्गा÷घडेरी सम्माउने काम सकिएको छ । एक सय आठ शिवलिङ्गका मूर्ति प्रतिस्थापनका लागि काम शुरु भएको छ । शिवलिङ्गसहित द्वादश रुद्र, एकादश रुद्र, गणेश, हनुमान, नवग्रहसमेत गरी कूल १३८ मूर्ति राखिने जनाइएको छ ।

“पवित्र कालीगण्डकी नदीका शिलाबाट शिवलिङ्ग बनाउने काम भइरहेको छ”, सर्वसिद्धि शिवलिङ्गमण्डप निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष राज थापाले भन्नुभयो, “आउँदो चैतमा पर्ने अक्षय तृतीयासम्ममा शिवलिङ्गका मूर्ति प्रतिस्थापन गर्ने योजना छ ।” शिवलिङ्गसहितका सबै मूर्ति तयार गर्न करिब रु ४० लाख खर्च लाग्ने अनुमान छ ।

मूर्ति राख्नका लागि दाताहरुको खोजी भइरहेको र हालसम्म ६० जनाभन्दा बढीले सहयोगको प्रतिबद्धता जनाएका छन् । एउटा मूर्तिका लागि रु २१ हजार सहयोग रकम तोकिएको समितिले जनाएको छ । दुई सय एक जना दाताहरु खोजी सबै मूर्तिका लागि सहयोग रकम सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

मन्दिर पुनःनिर्माणको काम अर्को वर्षबाट शुरु हुने परिषद्का अध्यक्ष थापाको भनाइ छ । “स्थानीयवासीको पहल र सहयोगमा मन्दिरको काम अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो, “सरकारी निकायबाट खास सहयोग आएको छैन, ऋणधन गरेरै भए पनि मन्दिर संरक्षण अभियानमा लागेका छौँ ।”

जग्गा व्यवस्थापन, घेराबार, पर्खाललगायत संरचना बनाउँदा हालसम्म रु १२ लाख जति खर्च भइसेकेको छ । गत आर्थिक वर्षमा गलकोट नगरपालिकाले दिएको रु दुई लाखबाहेक अन्य निकायबाट कुनै सहयोग आएको छैन । मन्दिर व्यवस्थापनले ऋण काढेर भए पनि कामलाई गति दिएको छ ।

झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्री र बालाचर्तुदर्शी पर्वमा ठूलो मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ । गलकोट क्षेत्रकै पुरानो र महिमायुक्त शिवालयका रुपमा यस मन्दिरले चिनारी पाएको स्थानीयवासी चिरञ्जीवी मरासिनीले बताउनुभयो ।

“ऐतिहासिक मन्दिर भएकाले यसको संरक्षणमा सबै पक्ष एकजुट हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “नगरपालिका र अन्य सरकारी निकायको पनि यसमा ध्यान जाओस् ।” पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यस ठाउँमा बस्न थालेपछि शिवालय मन्दिर स्थापना गरिएको गाउँका अगुवा बताउँछन् ।

मन्दिरको नाममा बाह्रमुरी धान आउने दुई खेत पनि छन् । खेती लाउन दिएको ठेक्काबाट आउने रकम मन्दिरको पूजा व्यवस्थापनमा खर्च हुन्छ । मन्दिर नजिकै रहेको अर्को ऐतिहासिक नाच्ने डाँडाले पनि सो ठाउँको महत्व बढाएको छ । उक्त डाँडामा वर्षेनी तीज पर्वका अवसरमा मेला लाग्ने गरेको छ ।

मन्दिरदेखि झण्डै तीन किमी दूरीमा रहेको पाण्डुकेशरी गुफासँग पनि शिवालयको साइनो छ । वर्षेनी बालचर्तुदर्शीका दिन मन्दिरबाट सतबीज छर्दै गुफामा पुग्ने चलन छ । मन्दिर–गुफा जोड्ने गरी पदमार्ग निर्माणको काम पनि भइरहेको छ । पदमार्गका लागि वडाबाट गत र चालू आवमा गरी रु चार लाख बजेट विनियोजन भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !