६ बैशाख २०८१, बिहिबार

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक


पर्वत

पर्वत ६ माघ । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ ।

लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् ।

गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीयवासी सशङ्कित बनेका हुन् । लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफ्रिएपछि शङ्का लागेको बताउनुभयो । ।

आज बिहान यस्तो समस्या देखेपछि उहाँले तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य सङ्घलाई खबर गर्नुभएको थियो । खबरपश्चात पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिनुभयो । शङ्कास्पद भेटिएपछि उक्त ब्राण्डको चामल कुश्माबजारमा विक्रीका लागि रोकसमेत लगाइएको छ । २५ किलोग्राम तौलको बोरामा यस्तो समस्या देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !