७ बैशाख २०८१, शुक्रबार

पृथ्वीनारायण शाहको सालिक सिंहदरबारअगाडि नराखिएको भए…


१७ मंसिर , काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, “चन्द्रागिरिमा राख्ने ।” पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ल्याएर सिंहदरबारको मूल ढोका अघिल्तिर ठड्याइयो ।

पृथ्वी जयन्ती मूल समारोह समितिको कार्यालय थियो– घण्टाघरतर्फको त्रिचन्द्र कलेजमा । समितिका पदाधिकारीमा मुख्य चौतरिया फत्तेजङ्ग पराक्रम शाह, फिल्ड मार्सल केशरशमशेर जबरा, सर्दार नरेन्द्रमणि आदि, साहित्यकार बालकृष्ण समलगायत रहेका थिए । छ दशकअघि समितिको त्यो बैठकको स्मरण गर्दै इन्जिनियर शङ्करनाथ रिमालले भने, “पृथ्वीनारायणको सालिक राख्ने निर्णय भयो । मलाई सालिक राख्नका लागि स्मारकको डिजाइन गर्न जिम्मा दिइयो । ” सालिकको डिजाइन गर्ने जिम्मा बालकृष्ण समले पाउनुभयो भने सालिक निर्माण गर्ने जिम्मेवारी कलाकार अमर चित्रकारलाई दिइयो ।

इन्जिनियर रिमालले सुरुमा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट उपत्यका देखेको र चन्द्रागिरिमा स्मारक राख्दा हिमाल, पहाड र तराई देख्न सकिने सोचले चन्द्रागिरिमा निर्माण गर्नका लागि स्मारकको नमुना तयार गरे ।

त्यस स्थानलाई चन्द्रजस्तो आकार भएको पहाड (गिरि) भएकाले परम्परादेखि नै चन्द्रागिरि भनिँदै आएको थियो । स्मारक निर्माण गरी सालिक राखिएको भए त्यो बेला नै चन्द्रागिरिलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको हुन्थ्यो । हाल चन्द्रागिरि हिल्सले भालेश्वर नजिक पृथ्वीनारायणको सालिक राखेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !