८ बैशाख २०८१, शनिबार

डिल्लीबजार कारागारमा पूर्वलडाकुको मृत्यु


ex moist fighter

काठमाडौं- माओवादी पूर्वलडाकु सञ्जय जर्घामगरको डिल्लीबजार कारागारमा मृत्यु भएको छ। ठगी आरोपमा पक्राउ परेका २५ वर्षीय मगरको आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो। मकवानपुर, भैंसेका मगरलाई प्रहरीले गत साउन ९ गते गट्ठाघरस्थित प्रवीण आयल स्टोरमा मिटर बिगारेर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। मगरले उक्त आयल स्टोर ठेक्कामा लिई सञ्चालन गरेका थिए।

कारागार प्रमुख विष्णु कार्कीका अनुसार मगरको हृदयाघातका कारण मृत्यु भएको हो। ‘रातको १ बजेतिर पिसाब फेरेर सुतेका मगरले २ बजेतिर अनौठो आवाज निकालेपछि तुरुन्तै उपचारका लागि वीर अस्पताल लगिएको थियो,’ उनले भने, ‘अस्पताल पुग्दा उनको उनको मृत्यु भएसकेको रहेछ।’ मगरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

मृतकका आफन्त र बहिर्गमित जनमुक्ति सेना नेपालका पदाधिकारीले भने कारागारको लापरबाहीले मगरको मृत्यु भएको बताइरहेका छन्। उनीहरूले मृत्युको विषयमा छानबिन गर्न समिति बनाउनुपर्ने माग गरेका छन्।

बहिर्गमित सेनाका अध्यक्ष लेनिन बिष्टले मगरको कारागारभित्रै मृत्यु भएको दाबी गरे। उनले कारागारका तर्फबाट लापरबाही भएकाले पीडितलाई न्याय दिन छानबिन आवश्यक रहेको बताए। ‘बिरामी रहेको जानकारी रहँदा पनि प्रहरीले उपचार नगर्नु शंकास्पद छ,’ उनले भने, ‘त्यसकारण छानबिन गरेर दोषीलाई कारबाही गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्छ।’ उनले मगरको पम्पमा कुनै त्रुटि नरहे पनि प्रहरीले झुटो आरोपमा पक्राउ गरेको बताए।

मृतक मगरको आगामी मंसिरमा विवाह गर्ने तय भएको थियो। उनले केही समयअगाडि टिकोटालो गरेका थिए। मगरको मृत्यु भएपछि शिक्षण अस्पतालमा उनका बाबु र दिदी शव बुझ्न आएका थिए। उनीहरूले पोस्टमार्टमपछि मात्र शव बुझ्ने भएका छन्।

घटनाका विषयमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जानकारी लिएका छन्। उनले कारागारभित्रै मृत्यु भएको विषयमा छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !