७ बैशाख २०८१, शुक्रबार

काठमाडौँको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १० घाइते, चालक फरार


basundhara-accident

राजधानीको चक्रपथमा चल्ने बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

काठमाडौँको बसुन्धरा चोकमा बुधबार दिउँसो ३:५० बजे भएको दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त महराजगन्जका प्रमुख डिएसपी गोविन्द पुरीले सेतोपाटीलाई बताए।

महाराजगन्जबाट गोंगबु बसपार्क तिर गइरहेको बा १ ख ९२८० को बस बसुन्धरा चोकमा अचानक नियन्त्रण गुमाएर बिच सडकमा पल्टिएको पुरीले बताए।

घटनामा परी मृत्यु हुनेको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ५ जनाको शिक्षण अस्पताल र ३ जनाको बिपी स्मृति अस्पताल बसुन्धरामा उपचार भइरहेको छ।

घाइते हुनेमा धरानका विनोद परियार र दिनेश परियार, नुवाकोटका देवराज न्यौपानेको अवस्था गम्भीर छ।

यस्तै धनगढीका मंगलसिंह ठकुरी, सिन्धुपाल्चोकका स्वाङ्वा तामाङ, सुनसरीका रवि परियार, धादिङका मोहनप्रसाद ढकाल र मोरङका सागर पोखरेल पनि दुर्घटनामा परी घाइते भएका छन्। मृतकको शव टिचिङ अस्पतालमा राखिएको छ।

तिब्र गतिमा रहेको बसले पैदल यात्रुलाई जोगाउन खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !