८ बैशाख २०८१, शनिबार

भारतबाट बोका ल्याउनेसँग असुली गर्दै प्रहरी 


असुली गर्दै प्रहरी 

३१ असोज, महोत्तरी । महोत्तरीको विभिन्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतबाट बलिका लागि बोका ल्याउनेसँग जथाभावी रकम असुल गरिरहेका छन् । जलेश्वर नगरपालिका–२ का बद्री पासवानले जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोड हुँदै बोका ल्याएपछि उनलाई त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले पैसा मागेको आरोप लगाएका छन् ।

उनले आफूजस्ता दर्जनौ व्यक्तिसँग प्रहरीले न्यूनतम रु ५० देखि १०० र कसैसँग रु १५० सम्म माग्ने गरेको बताउनुभयो । त्यस्तै जिल्लाको मटिहानी, सम्सी, खैरबन्नी, रघुनाथपुर, बथनाहा, कटैया, मनरा लगायतका नाकाबाट पनि दशैँको बलिका लागि खसी बोका ल्याउनेसँग प्रहरीले रकम असुली गर्ने गरेको गुनासो सर्वसाधारणले गरेका छन् ।

प्रहरीले जाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको र व्यापारीबाट धम्क्याएर जबर्जस्ती रकम असुली गर्ने गरेको एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताउनुभयो । त्यस्तै कसैकसैसँग प्रहरीले खर्चबर्च दिनुस् भन्दै पनि रकम असुली गर्ने गरेको सर्वसाधारणको गुनासो छ ।

महोत्तरीमा भारतसँग जोडिएका साना–ठूला गरी जम्मा १३ नाका छन् भने खुला वनसमेत रहेको छ । सबैतिर अहिले दशैँको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् र उनीहरू खसी बोका ल्याउनेसँग जथाभावी रकम असुली गर्ने गरेको जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !