६ बैशाख २०८१, बिहिबार

आज किराँत समुदायको उभौली पर्व मनाईँदै


Ubhauli1

वैशाख १७, धरान ।  किराँत समुदायको महान चाड साकेला उभौली मनाईँदै छ । किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजा आजा गरी साकेला चाड मनाउने प्रचलन रहेको छ  ।

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहीनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने प्रचलन छ । साकेला थानमा पितृभूमिको पूजा–आजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैसाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा दुई पटक महिना दिनसम्म मनाउने गरिन्छ ।

साकेन्वा, साकेवा, साकलालगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा छ । अहिले आफन्त, साथीभाइ, छरछिमेकबीच उभौली चाडको शुभकामना आदान–प्रदान चलिरहेको छ ।

साकेला पर्व र साकेला नाचको सुरुवातका विषयमा पिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको सुरुवातका विषयमा किराँत समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । यद्यपी, किरात समुदायको आदिम पूर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्ती रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !