४ बैशाख २०८१, मंगलबार

बुद्ध जयन्ती नववर्ष संगीत उत्सव–२०७५ हुने


Sangit Utsav

६ वैशाख, काठमाण्डौ । नेपाल हिमालयन वोन रिसर्च सेन्टरको आयोजनामा यही बैशाख १७ गते दोलखाको कालिञ्चोक गाउँपालिका १ कुरी बजारमा बुद्ध जयन्ती नव–वर्ष संगीत उत्सव २०७५ सम्पन्न हुने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा नेपाल हिमालयन वन रिसर्चले बिहीबार पत्रकार सम्मेलन गरेर बुद्ध नेपालमै जन्मिएका हुने भन्ने अभियानलाई जिल्लामा लैजानको लागि उक्त संगीत उत्सवको आयोजना गरिएको जानकारी दिएको हो ।

संगीत उत्सव–२०७५ का संयोजक श्रवण बस्नेतले बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देशलाई स्थानीयकरण गर्नको लागि कार्यक्रमको आयोजना गरिएको विश्वास दिलाए ।

उनले भने,‘बुद्ध नेपालमै जन्मेका हुन भनिरहनुपर्दैन भन्ने कतिपय आवाजहरु उठ्छन् तर हाम्रो राष्ट्रियता र विराटतासंग जोडिएका भगवान गौतम बुद्धलाई भ्रममा पार्ने र विभाजित बनाउने काम भईरहेको छ, यस्ता खाले भ्रमबाट मुक्त राख्नको लागि हामीले यो अभियानलाई स्थानीयकरण गर्न लागेका हौं ।’

संयोजक बस्नेतले अघि थपे,‘यस संगीत उत्सवमा राष्ट्रियदेखि स्थानीय कलाकारहरु, वरिष्ठ किर्बोडिस्ट, अतृप्त ब्यान्डको लाईभ प्रस्तुति रहनेछ, बुद्धको २५६२ औं जन्मजयन्तीको अवसर पारेर हामीले यो कार्यक्रम गर्दैछौं, उक्त कार्यक्रमको लागि राजधानीबाट तीन फिट अग्लो बुद्धको मुर्ति गाडिको छतमा सजार कार्यक्रम स्थल कालिञ्चोकसम्म लैजाने र मञ्ममा राखिने छ।’

उनले भने,‘उक्त मुर्ति धर्म गूरुहरुले पूजा गर्नुहुनेछ, राजधानि देखि कालिञ्चोकसम्म जाने व्यवस्था गर्रिएको छ, उक्त सेवाको लागि ३५ सय मात्रै लागत स्वर टिकटको व्यवस्था गरेका छौँ, त्यस्तै जिल्लाका आन्तरिक पर्यटकको लागि १५ सय र प्रवेश शुल्क स्वरुप एकसय रुपैयाँ तोकेका छौं, ५ हजार भन्दा बढि मानिसले अवलोकन गर्ने हाम्रो अनुमान रहेको छ ।’

संयोजक बस्नेतले भने,‘चक्रपथ सरसफाई महाअभियानले हामीलाई सहयोग गर्दैछ, कालिञ्चोकजस्तो पवित्र धार्मिक स्थल फोहोर बन्दैछ, नजिकै बसपार्क छ, होटेल व्यवसायी नजिक हुनुहुन्छ, हामीले त्यो पवित्र धार्मिक स्थल् र पर्यटकीय स्थललाई सफा राख्नु हाम्रो कतव्र्य हो ।’

राष्ट्रिय बेरोजगार यूवा संघका अध्यक्ष बिदुर बस्नेतले बेरोजगारी न्यूनीकरण र रोजगारी सिर्जनाको लागि यस्ता कार्यक्रमहरुले महत्वपूर्ण अर्थ राख्ने बताएका छन् ।

उनले भने,‘स्थानीय उत्पादनको बजार व्यवस्थापन र उचित मूल्य प्राप्त गर्नुका साथै समयको लगानी पनि कम हुन्छ, त्यसैले यस्ता कार्यक्रममा सबैको उपस्थिति आवश्यक छ।’

त्यस्तै चक्रपथ सरसफाई महाअभियानका सदस्य विकास अधिकारीले संगीत उत्सवको दिनमा ‘ग्रिनसिटी’ हस्पिटलले एक दिन स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएका छन् ।

उनले भने,‘बुद्ध जयन्तीको अवसरमा आयोजति संगीत उत्सवमा चक्रपथ सरसफाई महाअभियानका अभियन्ता लोकबहादुर टन्डन अध्यक्ष रहेको ग्रिन सिटी हस्पिटलले एक दिने स्वास्थ्य शिविरको आयोजना गर्दैछ, यो निजि क्षेत्रका हस्पिटलले दिन लागेको पहिलो निःशुल्क स्वास्थ्य शिविर हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !