१२ बैशाख २०८१, बुधबार

आयो सेयर बजारमा हरियो चमक, के  सम्हालिएकै हो नेप्से ?


Bullish trend share-market

२२ फागुन, काठमाण्डौ । निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार कारोबारको अन्तिम प्रहरमा आएर सम्हालिएको छ । दिनभर जसो बजारमा अवधिभर उतारचढाव आइरह्यो । नेप्से सूचक रातो र हरियो हुने जुहारी चलिरहँदा अन्ततः बन्द हुने बेलामा बजार सकारात्मक बनेको हो । आइतबार र सोमबार नेप्से सूचक बेस्सरी तल झरेको थियो । अर्थमन्त्री युवराज खतिवडाले दिएको एक अभिव्यक्तिलाई आधार बनाएर बजार निरन्तर तल झरेको हो ।

अर्थमन्त्रीले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा सेयर बजार अनुत्पादक भनेको विषयले चर्चा पाएको हो । पछिल्लो समय नेप्से सूचकमा भारी अंकको गिरावट आउनुमा यही विषय कारक बन्यो । आत्तिएर सेयर बिक्री गर्नेहरु विस्तारै कम हुँदै गएपछि बजार फेरि सकारात्मक बाटोमा लागेको अनुमान गरिएको छ । अब बजार विस्तारै सम्हालिने विश्लेषण गरिंदैछ ।

बजार नाप्ने नेप्से सूचक मंगलबार ८.७० अंकले बढेर १२९६.४४ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.६८ प्रतिशतले बढेको हो । कुल १६४ कम्पनीको ४८ करोड ३९ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । कुल १४ लाख ४८ हजार ८०५ कित्ता सेयर कारोबार भएको हो । नेप्सेमा कारोबार भएका १० वटा समूहमध्ये २ वटाबाहेक बाँकी सबै समूहका सूचकमा हरियाली देखिएको छ ।

बिमा समूहको सूचक ३४.९७ अंकले बढेको छ भने विकास बैंक समूहमा १९.९७ अंकको तेजी आएको छ । उता, वाणिज्य बैंक समूहको सूचक पनि १०.५४ अंकले माथि लागेको देखिन्छ । तर होटेल समूहमा भने ६९.५८ अंकको ह्रास आएको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको २ करोड ५२ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !