७ बैशाख २०८१, शुक्रबार

पाँचखाल बृहत्–खानेपानीको ठेकेदार छान्दै एडिबी मुख्यालय


खानेपानी

काभ्रेपलाञ्चोक, २४ वैशाख । पाँचखाल नगरपालिकामा सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजनाको ठेक्का प्रक्रियामा रहेको छ । योजनाको टेण्डर समयावधि सकिएपछि ठकेदार कम्पनी छनोट गर्न प्राप्त नौ प्रस्तावका कागजात एशियाली विकास बैंक (एडिबी)को मुख्यालय फिलिपिन्सको मनिला पठाइएको छ ।

नौ कम्पनीको प्रस्तावको नेपालस्थित एडिबीको कार्यालयले प्रारम्भिक प्राविधिक मूल्याङ्कन गरी पठाइएको कागजातको एडिबी मुख्यालयले अध्ययन गरिरहेको नेपाल सरकार शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाका उपनिर्देशक रामकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रस्तावको एडिबी मुख्यालयले अध्ययन गरिरहेको छ, मैले इमेलमार्फत फलोअप गरिरहेको छु, एक दुई हप्तामै निर्माण कम्पनी छनोट भइआउने जानकारी प्राप्त भएको छ ।” उहाँका अनुसार प्रस्तावकको प्राविधिक मूल्याङ्कनपछि आर्थिक मूल्याङ्कन गरी निर्माण कम्पनीको टुङ्गो लाग्नेछ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमणको उच्च जोखमका कारण परियोजनाको समयावधि लम्बिने देखिएको छ । कोरोना सङ्क्रमणका उच्च जोखिमका कारण प्रक्रियामा केही ढिलाइ भए पनि ठेकेदार कम्पनी छनोट भएलगत्तै निर्माणका काम अघि बढ्ने श्रेष्ठले बताउनुभयो । परियोजना रु दुई अर्ब २१ करोडको लागतमा दुई वर्षमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको थियो । योजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरिसकेका हुन् ।

श्रेष्ठका अनुसार आयोजनाअन्तन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो हो । नेपाल सरकार, नगर विकास कोष, एडिबी र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । परियोजनाको विसं २०७६ भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पु¥याउन पाँचखाल नगर कार्यालयद्वारा सर्वेको काम भइरहेको छ ।

काभ्रेपलाञ्चोकका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बाँस्कोटाले एडिबीले निर्माण कम्पनी छनोट गरेपछि खानेपानी योजनाको काम तीव्र गतिमा अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “एडिबीले ठकेदार कम्पनी छिट्टै छनोट गर्ने जानकारी आएको छ, छनोटलगत्तै खानेपानीको काम तीव्र गतिमा अघि बढाइनेछ ।” उहाँले निरन्तर निर्माणले समयसीमासम्ममा आयोजना सम्पन्न गर्ने अपेक्षा राखिएको बताउनभयो । “आयोजनाका लागि आवश्यक जनशक्ति परिचालन गरिनेछ, समयमै पाँचखालका बासिन्दालाई खानेपानीयुक्त बनाइनेछ”, बाँस्कोटाले भन्नुभयो । परियोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !