११ बैशाख २०८१, मंगलबार

लकडाउनमा वन्यजन्तुको चोरी शिकार हुँदै


डोटी, २२ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी भएपछि जिल्लामा वन्यजन्तुको चोरी शिकारमा वृद्धि भएको छ ।

लकडाउनको मौका छोपी तस्कर समूहले यहाँका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको चोरी शिकार गर्ने गरेका छन् । वन्यजन्तुको चोरी शिकार व्यापक भए पनि यसको नियन्त्रण हुन नसकेको स्थानीयवासीको भनाइ छ । जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा खुलेआम रतुवा, बँदेल, घोरल, थारलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटीसमेत तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ ।

लकडाउनको मौका छोपेर गाउँमा सुरक्षाकर्मीको खासै उपस्थिति हुन नसकेका कारण यहाँका ग्रामीण क्षेत्रबाट तस्करले जङ्गली जनावर मारी जङ्गलमै मासुको सुकुटी बनाउन थालेको जोरायल गाउँपालिका–१ का दिनेशबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनको समय छ, गाउँमा सुरक्षाकर्मी छैनन्, यही मौकामा तस्कर शिकार गर्दै जङ्गलमै सुकुटी बनाउन थालेका छन् ।”

लडकडाउन हुनुभन्दा पहिले पनि जिल्लामा वन्यजन्तुको चोरी शिकारी हुने गरेको व्यापक जनगुनासो आउन थालेको थियो । यहाँका महाभारत शृङ्खलाअन्तर्गतको तेले लेक वनमा गएको वर्ष डिभिजन वन कार्यालय डोटीका कर्मचारी, स्थानीय पत्रकार, शिखर नगरपालिकाका प्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्ता अनुगमनका लागि पुगेका थिए । अनुगमनका क्रममा चोरी शिकारीमा संलग्न तस्करले वन्यजन्तु मार्ने तरिका, मारेका वन्यजन्तुका हड्डी, छाला, चोरी शिकारीमा संलग्नको बासस्थानलगायत प्रयोग गर्ने नाका र तस्करले प्रयोग गरेका सामग्री फेला परेको भए पनि कसैलाई पनि पक्राउ गर्न नसक्दा वन्यजन्तु चोरी शिकार मौलाएको स्थानीयवासीको भनाइ छ ।

डोटीका डिभिजन वन अधिकृत शम्भु तिवारीले डिभिजन वनमा सशस्त्र वनरक्षक नभएका कारण चोरी शिकार नियन्त्रण गर्न समस्या भइरहेको र चोरी शिकार गर्नेको गोप्यरुपमा सूचना लिएर प्रहरी प्रशासनमा पक्राउका लागि आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग सशस्त्र वन रक्षक छैनन्, लकडाउनको मौका छोपी चोरी शिकार गर्नेबारे सूचना लिएर सामुदायिक वनका पदाधिकारी, प्रहरी तथा प्रशासनको सहयोगमा पक्राउ गर्ने छौँ, स्थानीयवासीले सहयोग गर्नुपर्छ ।”

जिल्ला विभिन्न वनमा भइरहेका वन्यजन्तुको चोरी शिकार नियन्त्रण गर्न सामुदायिक वनका पदाधिकारी तथा डिभिजन वन कार्यालयबीच सहमति भएकाले त्यसको कार्यान्वयनमा डिभिजन वन कार्यालय लागिपरेको उहाँले जानकारी दिनुभयो । वन्यजन्तुको चोरी शिकारका लागि तस्करले हिजोआज बन्दुकलगायत अन्य घरेलु हातहतियारसहित जङ्गलमा बास बस्ने र शिकार गर्ने गरिरहेको केआइसिंह गाउँपालिकाका कमलबहादुर ऐरले बताउनुभयो ।

जङ्गलमा शिकार गरिएका वन्यजन्तुको मासु यहाँका विभिन्न राजमार्गलगायत सदरमुकामका होटलमा समेत बिक्री वितरण हुने गरेको छ । जिल्लाको खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका वन र माहाभारत शृङ्खलाअन्तर्गत रहेको तेलेलेक वनबाट बढी मात्रामा वन्यजन्तु चोरी शिकारी हुने गरेको स्थानीयवासीको भनाइ छ । कर्णाली किनार हुँदै डडेल्धुराको गन्यापधुरादेखि डोटीका विभिन्न स्थानीय तहलाई तेले लेकको वनले समेटेको छ ।

जिल्लाको जोरायल गाउँपालिका–१ गैराकास्थित एक होटल व्यवसायीले तेलेलेकमा मारिएका मृगको मासु सुकुटी बनाएर तराईका जिल्लालगायत काठमाडौँसम्म लैजाने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनको समयमा शिकारीले जङ्गलमा वन्यजन्तु मारिरहेका छन्, सुकुटी बनाएर मासु बजारसम्म आउँछ र यहाँबाट अन्य ठाउँमा लैजाने गरिएको छ ।” शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान शुरु गरे पनि कार्यान्वयन हुन नसक्दा चोरी शिकार दिनहुँ बढ्न थालेको स्थानीयवासीको भनाइ छ ।

डिभिजन कार्यालयसँग मिलेर चोरी शिकारी नियन्त्रण र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा चोरी शिकारी निरुत्साहित गर्नेसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने तयारी भए पनि विभिन्न समस्याका कारण उक्त कार्य सफल हुन नसकेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खड्कबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “तेलेलेकमा हुने वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि हामीले योजनाबद्ध तरिकाले अगाडि बढ्ने योजना बनाएका थियौँ, केही समस्याले लागू हुन सकेको छैन अब निकट भविष्यमै लागू गर्नेछौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !