८ बैशाख २०८१, शनिबार

हिँडेर आएकालाई खाना र परीक्षणपछि बसमा पठाइयो


गाडी बन्द

गलकोट, ९ वैशाख । हिँडेर घर जानका लागि पोखरालगायत विभिन्न स्थानबाट आइपुगेका मजदुरलाई जिल्ला प्रहरी कार्यालयको सहयोगमा कोरोना परीक्षण गराई बागलुङ नगरपालिकाले बसमा चढाएर गन्तव्यतर्फ पठाइएको छ ।

बागलुङको मुख्य प्रवेशद्वारमा स्थापना गरेको हेल्थ डेक्समा सम्र्पकमा आएका मजदुरहरुलाई क्वारेन्टाइन तथा आश्रय स्थलमा खान बस्नको व्यवस्थासहित आरडिटी विधिबाट कोरोना परिक्षण गरी ४१ मजदुरलाई घर पठाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “लकडाउन थपिदै जादा जोखिम मोलेरै पैदलबाटोबाट घर आउनेक्रम जारी छ” पौडेलले भन्नुभयो “हामीले बागलुङ आउने मजदुरको उद्धार तथा व्यवस्थापनका साथै घर पठाउन सहयोग गरेका छौं ।”

बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालयलगायतको सहकार्यमा बानपा १ रामरेखा आधारभूत विद्यालय तथा बागलुङ नगरपालिका–२ स्थित पुरानो शान्ति समितिको कार्यालयमा राखिएका ५८ जनामध्ये ४१ मजदुरलाई एकीकृतरुपमा घर पठाइएको हो । उनीहरु रुकुम, रोल्पा र बागलुङका विभिन्न स्थानका हुन् । घर पठाइएका मध्ये रोल्पाका २७, रुकुमका २, बागलुङको भिमगिठेका ३, खर्वाङको १, बुर्तिवाङ्गका ३, गलकोटका ४, बिहुँका १ तथा सुरक्षाका लागि बसमा दुईजना प्रहरी समेत पठाइएको छ । रोल्पा र रुकुम जिल्लाका मजदुरहरुलाई बसमार्फत रुकुमको सिमाना सम्म पु¥याएर त्यहाँको स्थानीय तहलाई जिम्मा लगाएर छोडिने छ ।

आश्रय स्थलमा बाँकी रहेका काभ्रे, उदयपुर, तनहुँ, सिन्धुपाल्चोकका १७ जना मजदुरहरुलाई घर टाढा रहेका कारण अर्को व्यवस्था नहुन्जेलसम्मका लागि आश्रयस्थलमै राखिने जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज भट्टले जानकारी दिनुभयो । उद्धार गरी ल्याइएका ५८ जनाकै सोमबार आरडिटी विधिबाट कोरोना परिक्षण गर्दा सबैको नेगेटिभ देखिएका कारण ४१ जनालाई बसमा चढाएर घर पठाइएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिनुभयो । एक हप्ताभित्र उद्धार गरी क्वारेन्टाइन तथा आश्रय स्थलमा राखेका मजदुरलाई शुरुमा जिल्ला प्रहरी कार्यालयले खानको व्यवस्था गरेको थियो भने मजदुर धेरै हुन थालेपछि बागलुङ नगरपलिकाले व्यवस्थापन गर्न थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !