६ बैशाख २०८१, बिहिबार

अनुदानको रासायनिक मल चर्को मूल्यमा बिक्री गरिँदै


 भदौ २६,धनगढी । कैलालीमा रासायनिक मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुन नसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका हुन् ।

‘सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेको छ,’ कृषक वीरे चौधरीले भने, ‘बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन् ।’ अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले जिल्लाका सहकारी संस्थामार्फत मलको बिक्री वितरण गर्दै आएको छ । आधिकारिक बिक्रेताबाट मात्र बिक्री गर्नुपर्ने सो मल कैलालीका एग्रोभेटलगायतका व्यापारिक पसलबाट तोकेभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ ।

मलको बिक्री वितरणमा अपनाइएको प्रणाली नै गलत रहेकोले रासायनिक मलमा राज्यले दिएको अनुदान कृषक समक्ष पुग्न नसकिरहेको साल्ट टे«डिङ कर्पोरेशन धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे बताउँछन् । कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले आ–आफ्ना अधिकृत बिक्रेतामार्फत मल बिक्रीको व्यवस्था गर्न सके कृषकले सुलभ मूल्यमा सहज ढंगले मल पाउने पाण्डेको भनाइ छ । मल बिक्री वितरणको जिम्मा पाएको यी दुई संस्थाले ५० किलो बोराको अनुदानको युरिया मल रु ८२६, डिएपी रु २ हजार २७६ तथा पोटास रु १ हजार ६७६ बिक्री मूल्य तोकेकामा बजारमा उक्त मल युरिया प्रतिकिलो रु ३०, डिएपी रु ६० र पोटास रु ६० मा बिक्री भइरहेको छ ।

दुवै संस्थाले आफ्ना अधिकृत बिक्रेता(सहकारी संस्था)लाई मल बिक्री गर्दा प्रति बोरामा रु १२ देखि र ५० सम्म छुट दिने गरेको छ । सो मल बिक्री गर्दै आएका कतिपय सहकारी संस्थाले आफूखुशी मूल्य तोकेर बिक्री गर्ने गरेका किसानले बताएका छन् । कृषि सामग्री कम्पनी धनगढीका प्रमुख दुर्गाप्रसाद पाण्डे अनुदानको मलको बिक्री वितरण व्यवस्थापनबारे अनुगमन निरीक्षण गरिँदै आएको बताउँछन् । मल बिक्री गरी मनग्य आम्दानी गर्न पाइने भएपछि कैलालीमा मल बिक्री गर्नेतर्फ केन्द्रित भई धमाधम सहकारी संस्था स्थापना हुने क्रम बढेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !