७ बैशाख २०८१, शुक्रबार

सामाजिक सञ्जालमा भ्रमित नपार्न प्रजिअको आग्रह


सामाजिक सञ्जाल

दुल्लु, १२ चैत । कोरोना पुष्टि भएकी युवतीसँगै आएका एक युवक रहेको भनी प्रचार गरिएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भ्रमित नपार्न सामाजिक सञ्जालकर्तालाई आग्रह गर्नुभएको छ । ती युवतीसँगै हवाइजहाजमा सँगै आएका एक युवकको नामावली दैलेखमा देखिएको सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि प्रजिअले सबैलाई आग्रह गर्नुभएको हो ।

नामावलीमा दैलेख लेखिनुको कारण नागरिकता प्रमाणपत्र दैलेखको भएकाले हो । ती व्यक्ति सात वर्षअघि नै दैलेखबाट बसाइँसराइ गरी सुर्खेत गइसकेकाले कुनै चिन्ता र भयभीय नहुन प्रजिअले दैलेखवासीलाई अनुरोध गर्नुभएको छ । यस्ता खबर सामाजिक सञ्जालमा नराखी दिन पनि उहाँले आग्रह गर्नुभयो ।

नागरिकता प्रमाणपत्रमा दैलेख नौमुले– ६ साविक सल्लेरी रहे पनि ती व्यक्ति दैलेख नआउने र उनी सुर्खेतस्थित क्वारेन्टाइनमा रहेको बुझिएको छ । “त्यसैले सबै ढुक्क र निश्चिन्त हुनुहोस्, दैलेखमा कुनै समस्या छैन, हामी सतर्कता अपनाउन तयार छौंँ, ”उहाँले थप्नुभयो । बरु सामजिक सञ्जालमा कोरोनासम्बन्धी सन्देशमूलक र चेतनामूलक गतिविधि राख्न र लकडाउनलाई पालना गरेर घरमै बसेर सहयोग गर्नुभयो । यस्ता र भ्रमित र हतोत्साहित हुने खालका खबर सामाजिक सञ्जालमा राख्नेलाई बाध्य भएर कारबाही गरिने चेतावनी उहाँले दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !