८ बैशाख २०८१, शनिबार

गुठीसम्बन्धी रायसुझाव पेश गर्न समिति गठन


काठमाडौँ, १० चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी रायसुझाव पेश गर्न समिति गठन गरेको छ । यही चैत ५ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार आज प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

समितिले काठमाडौँ उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीको विषयमा के गर्ने भन्ने विषयका सन्दर्भमा सरोकारवालासँग आवश्यक छलफल परामर्श गरी प्रस्तावित गुठी विधेयकमा राय सुझाव पेश गर्नेछ ।

साथै समितिले गुठीका गुठीयार, सरोकारवाला, समाजसेवी, नागरिक समाज, सङ्घर्ष समितिका पदाधिकारी, जनप्रतिनिधिको संलग्नतामा अध्ययन, अन्तक्र्रिया, छलफल र बैठक बसेर गुठीको विशिष्टकृत अवस्थाको वस्तुस्थितिको चित्रण गरेर सुझाव दिने मन्त्रालयले जनाएको छ ।

पहिलो बैठक बसेको मितिले एक महिनाभित्र समितिले मन्त्रालयसमक्ष सुझाव पेश गर्नुपर्ने समयसीमा तोकिएको छ । सोही आधारमा गुठीसहितको भूमि विधेयक तयार गरिने मन्त्रालयले जनाएको छ । राष्ट्रियसभाबाट सरकारले गुठी विधेयक फिर्ता लिएपछि गुठीसहित एकीकृत भूमिसम्बन्धी विधेयक ल्याउन मन्त्रालयले तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !