७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्‍त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै


प्रधानमन्त्री केपी शर्मा ओली

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ ६:०० बजे बालुवाटारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग विहान छलफल गरेका प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न लागेका हुन् ।

विश्वभर कोरोना (कोभिड-१९) भाइरसको संक्रमणको त्रास भइरहेका बेला प्रधानमन्त्री ओलीको सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रशारण गर्नेछ । प्रधानमन्त्रीको सम्बोधन लगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नेछन् ।

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको भर्खरै मिर्गौला पुनः प्रत्यारापण गरेका कारण संक्रमणबाट जोगाउन जनतालाई सम्बोधन गर्ने बेला भिडभाड हुन नदिन राज्य नियन्त्रित संचार माध्यमलाई मात्र प्रवेश दिइने स्रोतले जनाएको छ । सो च्यानलबाट निजी क्षेत्रका सञ्चार माध्यमले पनि प्रधानमन्त्रीको सम्बोधन प्रसारण गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले ‘लक डाउन’ को तयारी गरेको छ । छिमेकी मुलुक भारतले ‘जनता कर्फ्यू’ घोषणा गरेको भोलिपल्टै नेपाल सरकारले लक डाउनको मोडालिटीबारे सरोकारवाला निकायसँग परामर्श गरेको छ ।

नोबल कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका नेता पोखरेलले यसअघि नै कुनै पनि बेला ‘लक डाउन’ गर्न सकिने बताउँदै आएका थिए। साँझै प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनमा केही महत्वपूर्ण घोषणा हुने अनुमान गरिएको छ।

प्रधानमन्त्रीले उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अन्य वरिष्ठ मन्त्रीलाई बालुवाटार बोलाएर लक डाउनको संभाव्यताबारे छलफल गरेका थिए । यसबाहेक भारतसँगका सबै नाका बन्द गर्नेबारे पनि सरकारले भारतसँग छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !