११ बैशाख २०८१, मंगलबार

फरार दुई अभियुक्त जेल चलान


पक्राउ

भक्तपुर, १७ माघ । लागू औषध मुद्दामा दुईवर्ष कैद र रु एक लाख जरिवाना फैसला भई फरार भएका अभियुक्तलाई प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ परेका भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने सविन तचामोलाई जिल्ला अदालत भक्तपुरले हिजो डिल्लीबजार कारागार चलान गरेको अदालतका तहसिलदार हिरालाल भुषालले जानकारी दिनुभयो ।

लागू औषध नाईट्रोजाम मुद्दामा २०७६ भदौ ५ गते जिल्ला अदालत भक्तपुरले दोषी ठहर गर्दै गरेको फैसला भुक्तान नगरी फरार तचामोलाई अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राऊ गरी जिल्ला अदालत भक्तपुर बुझाएको थियो ।

त्यसैगरी सुस्त मनस्थिति भएकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी फरार भएका ओखलढुङ्गा सिंहदेवी–७ घर भई सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ५६ वर्षीय पूर्णबहादुर खड्कालाई प्रहरीले घटनाको चार वर्षपछि गिरफ्तार गरेको छ । विसं २०७२ फागुन २१ गते बालिकालाई १० रुपैयाँ दिएर फकाई आफ्नै कोठामा लगेर बलात्कर गरी फरार भएका खड्कालाई सूर्यविनायकबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राऊ गरी जिल्ला अदालत भक्तपुरलाई बुझाएको थियो ।

अदालतले २०७५ कात्तिक २६ गते खड्कालाई दुई वर्ष ६ महिना कैद फैसला सुनाएकोमा फरार खड्कालाई भक्तपुर जिल्ला अदालतले डिल्लीबजार कारागार चलान गरेको तहसिलदार भुषालले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !