१३ बैशाख २०८१, बिहिबार

पर्यटन व्यवसाय प्रवद्र्धनमा स्थानीय निकाय


Mustang

१० जेठ, पाल्पा ।  पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोत वृद्धि गर्न पूर्वखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी पर्यटन व्यवसाय प्रवद्र्धन अभियान शुरु गरेको छ ।

गाउँपालिकाले वडा नंं १ देखि ६ सम्मका पर्यटकीय स्थलको पहिचान गरी पूर्वाधार विकास गर्दै सिङ्गो गाउँपालिकालाई पर्यटकीय गाउँपालिका बनाउन अध्ययन अवलोकन शुरु गरेको हो ।

सदरमुकाम तानसेनबाट ३५ किलोमिटर पूर्वमा रहेको पूर्वखोला गाउँपालिकालाई जिल्लाकै नमूना पर्यटकीय गाउँपालिका बनाउन वडा तहबाट पर्यटकीय स्थलको पहिचान गर्न थालिएको छ । पूर्वखोला गाउँपालिका–२ जल्पा पर्यटकीय सम्भावनमा बोकेको स्थान हो । थुप्रै पर्यटकीय स्थल हुँदाहँुदै पनि तिनीहरुको संवद्र्धन र प्रचार प्रसारको कमीको कारण ओझेलमा पर्दै आएका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि ओझेलमा परेका पर्यटकीय स्थलको खोजी गरी संरक्षणका लागि अभियान सञ्चालन गरिएको हो । जल्पा क्षेत्रका विभिन्न पर्यटकीय स्थलको पहिचान भएपछि पूर्वखोला गाउँपालिका–२ जल्पाले ग्रामीण स्तरमा ‘पर्यटन विकास र सम्भावना’ विषयक कार्यक्रम गरी प्रचार प्रसार अभियान थालेको छ ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पूर्वखोला गाउँपालिकाको सांस्कृतिक, धार्मिक र प्राकृतिक रुपमा विकास गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो । यस क्षेत्रमा मगर समुदायको बस्ती धेरै भएकाले उनीहरुको संस्कृति, वेशभूषा, खानपान लगायतका कुरालाई उजागर गरी पर्यटनबाट आर्थिक विकास गर्ने, ब्राह्मण समुदायमा भएको बालानाच र रोइला गीतलाई प्रवद्र्धन गर्दै आगामी वर्ष थप योजनाका साथ काम गर्ने उहाँको भनाइ छ ।

जल्पाको मगर संस्कृतिअन्तर्गत मारुनी, कौरानाच र घाटुनाच जोगाउँदै यस क्षेत्रमा होमस्टे (घरबास) सञ्चालनका लागि वडा तहबाट योजना बनाई काम गर्ने वडा नंं २ का वडाध्यक्ष निरबहादुर सारु बताउनुहुन्छ ।

जल्पामा धार्मिक र ऐतिहासिक महत्वका ठाउँ प्रशस्त रहेका छन् । झरना र गुफा, लेकहरुले जल्पा आउने पर्यटकलाई पटक पटक आउने गरी लोभ्याउने गरेको छ । नगरपालिकामा मात्र सीमित हुने गरेका पर्यटन गतिविधि अब गाउँपालिकाका वडा वडामा विस्तार भएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !