७ बैशाख २०८१, शुक्रबार

आमा समूहको अगुवाइमा नुहाउने घर


Nepalpatra

१० जेठ ,  म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जामा स्थानीय हिमाली आमा समूहको अगुवाइमा सार्वजनिक नुहाउने घर निर्माण गरिएको छ ।

जिल्लाको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको गुर्जामा पर्यटक र स्थानीयवासीका लागि आमा समूहले रु १६ लाखभन्दा बढी लगानीमा नुहाउने घर निर्माण गरेका हुन् ।

अत्यधिक चिसो हुने गुर्जामा तातोपानीको सुविधासहितको सार्वजनिक नुहाउने घर र कुलेसो निर्माण गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताउनुभयो । महिला र पुरुषका लागि छुट्टाछुट्टै दुईवटा कोठा र चारवटा धारा जडान गरिएको छ । नुहाउने घरमा विद्युतीय मेसिन जडान गरी तातोपानीको व्यवस्था गरिएको छ ।

तातोपानीसहितको नुहाउने घर निर्माणले गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुठा हिमाल र चुरेन हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज हुने वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुहुन्छ । सो कार्यका लागि गत आवमा वडा कार्यालयले रु ६ लाख ४७ हजार, चालू आवमा गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो भने रु चार लाख ५५ हजार आमा समूहको आन्तरिक कोषबाटै लगानी गरिएको समूहका सचिव सीताकुमारी छन्त्यालले बताउनुभयो ।

सार्वजनिक नुहाउने घरको व्यवस्थापनका लागि सुविधा लिन आउने स्थानीयवासीलाई रु २०, गाउँ बाहिरका व्यक्तिलाई रु ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु १०० शुल्क लिइने आमा समूहले जनाएको छ । विसं २०५४ मा स्थापना भएको आमा समूहले रु तीन लाखमा गुर्जामा भूमेथान मन्दिर, ओनथानखोलामा काठे पुल, गाउँमा सार्वजनिक धारा निर्माणलगायत काम गरेको छ । बिरामी भई उपचार गराउन समस्यामा परेका स्थानीयवासीलाई छोटो समयका लागि ब्याज रकम नलिने गरी बिरामीको अवस्था हेरेर रु ५० हजारसम्म उपचार खर्च सहयोग गर्दै आएको छ । हाल आमा समूहको रु तीन लाखको घुम्तीकोष र रु दुई लाखको आकस्मिक कोष रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !