१२ बैशाख २०८१, बुधबार

आँबुखैरेनी गाउँपालिकाका सबै वडा भाडामुक्त


तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाका छवटै वडा तथा आधारभूत स्वास्थ्य केन्द्र भाडामुक्त भएका छन् । गाउँपालिकामातहत रहेका वडामध्ये वडा नं ५ को वडा कार्यालय भवनको केही दिनअघि मात्रै उद्घाटन भएपछि सबै वडा भाडामुक्त भएका हुन् ।

गाउँपालिकाको रु ५६ लाख ८२ हजार ६१४ लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । उक्त भवन निर्माणको जिम्मा बिएम कन्स्ट्रक्शन प्रालि नुवाकोटले पाएको थियो । विसं २०७५ चैत १० गते सम्झौता गरी विसं ०७६ चैत २ गते सम्पन्न भए पनि अहिले आएर उद्घाटन गरिएको हो । भवनको निर्माण दुई वर्षअघि सम्पन्न गरिए पनि विविध कारणले उद्घाटनमा ढिलाइ हुन पुगेको कार्यालयका सूचना प्रविधि अधिकृत नीरज श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी गाउँपालिकामातहत रहेका सबै आधारभूत स्वास्थ्य केन्द्रको समेत आफ्नै भवन निर्माण भइसकेका छन् । वडा नं ६ मा स्वास्थ्य भवन निर्माण भइसकेको र उद्घाटनको चरणमा रहेकाले गाउँपालिकाका सबै वडा र स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी व्यास नगरपालिकाका १४ वडामध्ये १३ वडाले आफ्नो भवन निर्माण गरिसकेका छन् । व्यास–१ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै भाडामुक्त नगरपालिका बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । जग्गा विवादका कारण उक्त वडा भवन निर्माणमा ढिलाइ भएकाले भाडामुक्त नगरपालिका घोषणा गर्न नसकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका १४ वटै वडामा स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माण भइसकेकाले सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !