जीर्ण पुलका कारण आवतजावतमा समस्या Nepalpatra जीर्ण पुलका कारण आवतजावतमा समस्या
९ श्रावण २०७८, शनिबार

जीर्ण पुलका कारण आवतजावतमा समस्या


झोलुङ्गे पुल फाइल फोटो

कञ्चनपुर । दोधरा चाँदनी नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म आवतजावत गर्न महाकाली नदीमाथि बनाइएको झोलुङ्गे पुल जीर्ण भएकोे छ । पुलका विभिन्न ठाउँका स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गल टुटेका छन् । ठाउँठाउँमा पुल ठड्याउन राखिएका नटबोल्ट पनि खसेका कारण कुनै बेला पनि दुर्घटना हुनसक्ने देखिन्छ ।

मोटरसाइकल र साइकलमा पुलको क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारण पुल जीर्ण भएको हो । पुलका स्टिल डेक ठाउँठाउँमा टुट्दा पनि यस्ता सवारी साधनको आवागमन भने जारी छ । पुल जीर्ण बनेकाले नगरपालिकाले दुर्घटना हुन नदिन स्थनीयवासीलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ ।

“मोटरसाइकलमा चालकसहित दुई जना मात्र आवतजावत गर्न सुरक्षामा खटिएका प्रहरीले भनेका छौँ”, नगरप्रमुख वीरबहादुर सुनारले भन्नुभयो, “मोटरसाइकलमा सामान ढुवानी गर्दा अधिकतम ५० किलोसम्म सामान पुल भएर बोक्न दिइने व्यवस्था गरिएको छ । दूध बोक्ने मोटरसाइलमा भने भारको अधिकतम भार नदेखिने हुँदा त्यसलाई नियन्त्रण गर्न सार्वजनिक सूचना जारी गरिएको र पुल मर्मतका लागि पहल पनि भइरहेको छ” ।

दुई वर्षअघि सुदूरपश्चिम सरकारले रु ६० लाखको लागतमा ठेक्कामार्फत पुल मर्मत गरिएकोे थियो । डडेल्धुराको खाम्पाचे÷देवभूमि कन्स्ट्रक्शन तथा क्वालिटी सप्लायर्स अमरगढी–५ जेभीले पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः जीर्ण भएपछि दोधारा चाँदनी नगरपालिकाले पुनः मर्मत गरेको थियो ।

महाकाली नदीपारिको उक्त नगरपालिका जोड्ने एक हजार ४५२ मिटरको नेपालकै सबैभन्दा लामो सो पुल विसं २०६१ मा रु नौ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !