७ बैशाख २०८१, शुक्रबार

प्रशासनिक भवन निर्माणमा लापरवाही


गाउँपालिका

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिकाको प्रशासनिक भवन निर्माण गुणस्तरहीन भएको पाइएको छ । मलङ्गवा नगरपालिका–२ को सिटिइभिटी कलेज र शिक्षा कार्यालयको अगाडि निर्माण शुरु भएको भवनको निर्माणमा लापरवाही भएको पाइएको हो । भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग भइरहेको भए पनि मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहलगायत सरोकारवाला निकाय मौन देखिएका छन् । नगरप्रमुख साहका अनुसार आरसिसीको रिङमा इँट्टा जडान गरेको स्थानमा केही समस्या आएको हो । त्यसलाई ठेकेदार कम्पनीले व्यवस्थापन गर्ने बताएको नगरप्रमुख साहले जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय जनकपुर र मलङ्गवा नगरपालिकाको गरी कूल रु चार करोड ९७ लाखको लागतमा निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाको प्रशासनिक कार्यालयको भवन तीनतले बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिनुभयो । बहुवर्षे कार्यक्रमअन्तर्गत ग्रागन शिवालय (जेभी) कम्पनीले निर्माणको काम गरिरहेको छ ।

प्राविधिक समस्याका कारण तीनतले भवनको जग भत्किएको र त्यसमा गुणस्तरहीन नभई प्राविधिक कारण पर्खाल भत्किएको साथै पर्खाल भत्किनुमा नगरपालिका जवाफदेही हुने निर्माण कम्पनीले जनाएको छ । नगरपालिकाले परिणाम घट्ने भन्दै माटो अड्याउने गरी मात्र काम गर्न भनेको र सोहीअनुसार काम गर्दा समस्या आएको कम्पनीका साइट प्रमुख सुनिल सुवेदीले बताउनुभयो । आफूहरूले तिरेको करबाट भएको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै निर्माण रोकेर सरोकारवाला निकायले स्थलगत निरीक्षण गरी सत्यतथ्य छानविन गरी ठेकेदारलाई कारवाही गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !