४ बैशाख २०८१, मंगलबार

क्यान्सर अस्पताल परिसरमा बृहत्तर बागवानी फार्म


bp-koirala-cancer-hospital

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बृहत्तर बागवानी फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालमा ल्याइने भएको छ । अस्पताल र वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सहकार्य गरेर नेपालकै नमूना फार्म निर्माण गर्न लागिएको हो ।

अस्पताल स्थापना हुनुअघि सो क्षेत्रमा फार्म नै रहेको थियो । हाल अस्पतालले ओगटेको क्षेत्रबाहेक ५० विघाभन्दा बढीमा फलफूलका रूख भए पनि आवश्यक व्यवस्थापनको अभावमा व्यावसायिक बन्न सकेको छैन । दुई संस्थाबीच गरिएको सम्झौतामा मन्त्रालयले बृहत्तर बागवानी फार्म तथा नर्सरी विकासका लागि कार्ययोजनाका आधारमा ससर्त अनुदान उपलब्ध गराउने छ ।

यसैगरी नर्सरीबाट उत्पादित आँप, लिची, कटहर, एभोकाडो, सपोटालगायत बहुवर्षे फलफूलहरूको गुणस्तरीय बेर्ना वितरण एवं व्यवस्थापनका लागि मन्त्रालयले आफ्ना मातहतका कृषि ज्ञान केन्द्रहरूसँग आवश्यक समन्वय गर्नेछ । अस्पतालले बागवानी फार्म तथा नर्सरी विकास योजना तयार गरी मन्त्रालयबाट प्राप्त अनुदानको परिचालन गर्ने छ । बागवानी फार्म तथा नर्सरीमा कर्मचारी परिचालन तथा फार्मको सुरक्षाको प्रबन्ध अस्पतालले मिलाउने सम्झौतामा उल्लेख छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार अस्पताल र मन्त्रालयको समन्वयमा सञ्चालक समिति गठन गरिनेछ । सञ्चालक समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरिनेछ । सो समितिले फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्ययोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेछ । त्यहाँ वर्षिक तीन लाखभन्दा बढी बिरुवा उत्पादन गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने लक्ष्य राखिएको ढकालले जानकारी दिनुभयो । त्यहाँबाट भएको आम्दानीको ७० प्रतिशत कार्यक्रम सुदृढीकरणका लागि खर्च गरिनेछ भने बाँकी ३० प्रतिशत क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिनेछ ।

पहिलो पाँच वर्षपछि मन्त्रालय र अस्पतालको आपसी समझदारीमा फार्मको व्यवस्थापन र सञ्चालन गरिनेछ । अस्पताल परिसरमा उत्पन्न हुने फोहोरमैला व्यवस्थापन गरिने दुई संस्थाको बीचमा भएको सम्झौतामा उल्लेख गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाल वार्षिक रु तीन लाख मात्रै आम्दानी भइरहेको छ । व्यवस्थित गर्दैगर्दा आम्दानी बढ्ने, जग्गाको सदुपयोग हुने, भएका बिरुवाको संरक्षण हुने, अस्पताल परिसर हरियाली र सुन्दर हुने उहाँले बताउनुभयो ।

यहाँका फलफूलका रूख उच्च गुणस्तरका रहेकाले तिनीहरू कलमी गरेर उत्पादन हुने बिरुवा उच्चस्तरको हुने उहाँको भनाइ छ । अस्पतालको बगैँचा क्षेत्रमा अवैध रूपमा मानिसको प्रवेश पनि रोकिने गौतम बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भइरहेका फलफूलका रूखहरू हरेक वर्ष २०र२५ प्रतिशत मर्न थालेका छन् । तिनीहरूको ठाउँमा नयाँ बिरुवा रोपिनेछ ।” अस्पतालले बागवानी व्यवस्थापनका लागि आउँदो वर्ष मन्त्रालयसँग रु पाँच करोड माग गरेको छ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा यो नेपालकै नमूना बागवानी फार्म बन्ने बताउनुहुन्छ । तत्कालीन अवस्थामा अस्पताल बन्दै गर्दा अस्पतालले ओगटेको भागबाहेकका क्षेत्रमा बागवानीको प्रवद्र्धन गर्दै जाने उल्लेख भएको बताउँदै भन्नुभयो, “अस्पतालमा रहेको बागवानी विभागमा न्यून कर्मचारीले मात्रै काम गर्दै आएका छन् । यसले मात्रै धान्न सकेन ।” विसं २०४८ चैत १५ गते नेपाल र चीन सरकारबीच १०० श्ययाको सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् २०४९ साल साउन २७ गते भरतपुरस्थित यज्ञपुरी बागवानी फार्मको ७५ बिघा १० कट्ठा जमीन उपलब्ध गराइएको हो ।

१५० शवको निःशुल्क दाहासंस्कार

भरतपुर महानगरपालिकाको अगुवाइमा विभिन्न सङ्घसंस्थाको सहयोगमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका १५० जनाको दाहासंस्कार गरिएको छ । महानगरसँगै जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको कालीबहादुर गण, देवघाट क्षेत्र विकास समिति, लायन्स क्लब, नेपााल वन पैदावर व्यवसायी महासङ्घ चितवन लगायतको सहयोगमा निःशुल्क दाहसंस्कार गरिएको हो ।

महानगरले निःशुल्क शव वाहन, दाउरा र एक्साभेटर उपलब्ध गराएको छ । नेपाली सेनाले अस्पतालबाट दाहसंस्कारस्थलसम्म शव लगेर व्यवस्थापनमा सहयोग गर्दै आएको छ । देवघाट क्षेत्र विकास समितिले दाहसंस्कारस्थल नजीक दाउरा ल्याएर एउटा शवका लागि रु ५०० छुट गरेको छ ।

यसैगरी लायन्स क्लबले एउटा शववाहन निःशुल्क उपलब्ध गराएको छ । नेपाल वन पैदावर व्यवसायी महासङ्घले आवश्यक दाउरा उपलब्ध गराएको छ । महानगरको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार जेठ ६ गतेदेखि हालसम्म यहाँका अस्पतालमा मृत्यु १४६ जनाको शव जलाइएको र आठजनाको शव गाडिएको छ । जलाइएकामध्ये चारजनाको परिवारले मृतकलाई भार लाग्ने भन्दै दाहसंस्कार खर्च आफैँ तिरेका छन् । उहाँका अनुसार कोरोनाका कारण मृत्यु भएको परिवारका लागि महानगरले दाउरा, शव बोक्नका लागि शववाहन र खाल्डो खन्नका लागि स्काभेटरको व्यवस्था गरेको हो ।

कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा ठूलो रकम तिर्नु परेको गुनासो आएसँगै जेठ ५ गते महानगरप्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले सङ्क्रमितको शव व्यवस्थापनमा सहयोग गर्नका लागि महानगरलाई जिम्मा दिएको थियो । यसअघि एउटा शवका लागि रु १९ हजारदेखि २८ हजारसम्म मृतकका परिवारले तिर्न बाध्य भएका थिए । हाल अन्त्येष्टि गर्ने मानिसको अभाव भएमा केही रकम दिएर सहयोग लिनुपर्ने भए पनि मृतकका आफन्त भएको अवस्थामा दाहसंस्कार निःशुल्क भएको छ ।

महानगरले दाउरा किन्न रु तीन हजार दिने गरेको छ । सो अनुसार महानगरले शवको दाहासंस्कारका लागि रु चार लाख २६ हजार बराबरको दाउरा खरीद गरी मृतकको दाहासंस्कार गरेको हो । यहाँका अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितहरूमध्ये आधाभन्दा बढी जिल्लाबाहिरका रहेका छन् । विभिन्न अस्पतालमा अहिले ३१९ जनाको उपचार भइरहेको छ । जसमध्ये सघन उपचार कक्षमा १४३, एचएफएनसीमा ३०, एचडियुमा ४३ र आइसोलेशनमा १३५ जनाको उपचार भइरहेको छ । तीमध्ये चितवनका १४४ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत पुष्पाञ्जली ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमणका कारण २३० जनाको मृत्यु भइसकेको छ । अहिले कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाहरूको भरतपुर महानगरपालिका–१ बागेश्वरी नजीक नारायणी नदी किनारमा दाहासंस्कार गरिँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !