७ बैशाख २०८१, शुक्रबार

सामुदायिक साकोसको ११ औँ सेवा केन्द्र धुलिखेलमा


सहकारी संस्था File Photo

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले धुलिखेलमा सेवाकेन्द्र स्थापना गरेर सेवा शुभारम्भ गरेको छ ।

काभ्रेपलाञ्चोकलगायत काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) गरी चार जिल्ला कार्यक्षेत्र रहेको सो संस्थाले बजार क्षेत्रलाई ध्यानमा राखेर बिहीबारबाट अर्को सेवाकेन्द्र विस्तार गरिएको हो ।

धुलिखेल नगरपालिका नगरप्रमुख अशोक ब्याञ्जुले सेवाकेन्द्रको सेवा शुभारम्भ गर्नुहुँदै तीन खम्बे अर्थनीतिमा सहकारीको भूमिका, छरिएर रहेका पूँजी एकीकृत गरी समाज र राष्ट्र निर्माणका लागि आवश्यक पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले त्यसका लागि गाउँबाट शहर र शहरबाट गाउँसम्म सहकारी अभियानलाई सफलरुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै ग्रामीण सहकारीको अवधारणालाई अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लि.का महासचिव जीवसराज खड्काले समृद्ध नेपालको निर्माणमा नीति, विधि र प्रविधिको प्रयोग गरी समुदायमा जान आवश्यक रहेको बताउनुभयो । जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष दिलीप शर्माले सदस्यता आबद्धता तथा वित्तीय लक्ष्य हासिल गर्ने संस्थाको सक्रियता जरुरी रहेको बताउनुभयो ।

संस्थाका पूर्वअध्यक्ष एवं परामर्शदाता दीपक थापाले नवीनतम प्रविधि एकीकरणलगायत विषयमा देखापर्ने जटिलताका सम्बन्धमा छलफल गरी अगाडि बढ्न सुझाव दिनुभयो । संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले सहकारी एकीकरणलाई सशक्तरुपमा लैजाने र प्रविधिमैत्री सेवामा जोड दिँदै सुरक्षित र सवलरुपमा सदस्य सेवामा समर्पित भई आर्थिक र सामाजिक समृद्धिको अभियानमा संस्थालाई अग्रणीरुपमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०५१ देखि निरन्तर सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर परिवर्तनका लागि सुरक्षित, दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध गराउँदै आइरहेको सो सामुदायिक सहकारीमा हाल २९ हजार शेयर सदस्य रहेको छ । सो संस्था सन् २०१२ देखि अन्तर्राष्ट्रियस्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !