६ बैशाख २०८१, बिहिबार

विष्टले खिंचेका सात तस्वीर अन्तरराष्ट्रिय छनोटमा


Nepalpatra Logo

टिस्टुङ । नेपालका फोटो जर्नालिष्ट गणेश विष्टले खिंचेका सात तस्वीर अन्तरराष्ट्रिय छनोटमा परेका छन् । अन्तरराष्ट्रिय श्रमिक महिला दिवस–२०२१ का अवसरमा हेल्प एज इन्टरनेशनलले ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्यायलाई केन्द्रीय विषय मानेर अन्तरराष्ट्रिय रुपमा तस्वीर आह्वान गरेको थियो ।

मकवानपुर, थाहा नगरपालिका–३ का बासिन्दा विष्टले आफूले पठाएका तस्वीरमध्ये सात छनोटमा परेको जानकारी दिनुभयो । विश्वका १० देशले सहभागिता जनाएको सो प्रतिस्पर्धामा नेपालबाट एजिङ नेपालमा आबद्ध विष्टले खिंचेका सात तस्वीर प्रारम्भिक छनोटमा परेका हुन् ।

‘ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्याय अभियानमा मेरो समर्थन छ’ भन्ने जनाउन एउटा हातमाथि उठाएर खिंचिएको तस्वीर विष्ट थाहाबाट प्रकाशन हुने ‘विकास खबरपत्रिका’ साप्ताहिक र ‘थाहा टाइम्स’ अनलाइनमा फोटो जर्नालिष्टका रुपमा कार्यरत विष्टले प्रतिस्पर्धाका लागि पठाउनुभएको थियो ।

अन्तरराष्ट्रिय छनोटमा परेका तस्वीरमध्ये सबैभन्दा बढी (सात) नेपालकै छन् । त्यसपछि कम्बोडिया, फिलिपिन्स र जोर्डनका पाँचपाँच, भियतनाम, केन्या र इथियोपियाका चारचार, अर्जेन्टिना र किर्गिस्तानका तीनतीन तथा थाइल्याण्डका एक तस्वीर प्रारम्भिक छनोटमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !