१२ बैशाख २०८१, बुधबार

महासङ्घमा पर्यटन क्षेत्रबाट थपलियाको उम्मेदवारी


रामशरण थपलिया

काठमाडौँ । देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभाअन्तर्गत जारी निर्वाचनमा पर्यटन क्षेत्रबाट एकमात्र उम्मेदवारका प्रत्यासी रामशरण थपलिया चुनावी मैदानमा हुनुहुन्छ । महासङ्घका निवर्तमान केन्द्रीय सदस्य थपलिया पुनः दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यको उम्मेदवारका प्रतिस्पर्धामा होमिनुभएको हो ।

मुलुकको अर्थतन्त्रको प्रमुख आधारमध्येको पर्यटन क्षेत्रबाट थपलियाको मात्र केन्द्रीय सदस्यमा उम्मेद्वारी परेको छ । कोभिड–१९ महामारीका कारण थलिएको मुलुकको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार तथा निजी क्षेत्रको साझेदारिता र समन्वयलाई फराकिलो पारेर पर्यटनमार्फत देशको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो उमेदवारी रहेको उहाँको दाबी छ । महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकाल समूहबाट एसोसिएटतर्फको उहाँ उम्मेदवार हुनुहुन्छ । एसोसिएट उपाध्यक्षमा रामचन्द्र साँघाई सौरभ ज्योतिसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

ठमेल पर्यटन विकास परिषद्को पूर्वअध्यक्षसमेत रहेका थपलियाले पर्यटन क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्ने सरल र चातुर्य व्यक्ति मानिनुहुन्छ । निजी क्षेत्रका पर्यटन व्यवसायीलाई समन्वय र एकताबद्ध गर्दै पर्यटनका विभिन्न गतिविधिमा सक्रिय थपलियाले पर्यटन र समग्र निजी क्षेत्रको उन्नयन र विकासमा प्रतिबद्धताका साथ लाग्ने प्रण गर्नुभएको छ । पर्यटन क्षेत्रकै लागि पनि मेरो उम्मेदवारी आफँैमा महत्वपूर्ण रहेको भन्दै उहाँले पर्यटन क्षेत्रको सुधार, पूर्व मेचीदेखि महाकालीसम्मका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्य रहेको सुनाउनुभयो ।

प्रत्यासी थपलियाले भन्नुभयो, “उद्योग पर्यटन क्षेत्र भनेको आफैँमा गतिशील क्षेत्र हो, अब यति गरेपछि सकियो भन्ने हुँदैन । यस्तोमा हामी सबैको ध्येय पर्यटन क्षेत्र उद्योगको विकास र विस्तार नै हो । यद्यपि कोभिड–१९ का कारण आशातित काम हुन सकेनन् । पर्यटन बजार लामो समय ठप्प भयो । अब बिस्तारै चलायमान हुँदैछ । व्यवसायी एकताबद्ध गरेर लैजानका लागि पनि मेरो नेतृत्व अपरिहार्य छ ।” व्यावसायिक हकहित र समग्र उद्योग, पर्यटन क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्नसक्ने क्षमता आफूमा रहेको भन्दै उहाँले त्यसैका आधारमा धेरै व्यवसायीको मत पाउने दाबी गर्नुभयो ।

मङ्सिर ११ देखि शुरु भएको महासङ्घको साधारणसभाको आज तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । महासङ्घको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्नुहुनेछ । यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह निर्वाचनमा होमिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !