१२ बैशाख २०८१, बुधबार

ताप्लेजुङमा फुसरहित घर निर्माण शुरु


घर

फुङ्लिङ, २६ कात्तिक । ताप्लेजुङमा खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसरहित घर निर्माणका लागि छनोटमा परेका परिवारको घरमा जास्तापाताको छाना लगाउन थालिएको हो ।

शहरी विकास तथा निर्माणअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना झापाले ताप्लेजुङका खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई सुरक्षित छानोमुनी ल्याउन लागेको हो । कार्यक्रमअन्तर्गत जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ४ साँघुको ओदकमा आयोजनाले लाभग्राही अर्थात् विपन्न ३० परिवारको घरको फुसको छाना हटाई जस्तापाताले छाइदिएको छ ।

शेर्पा समुदायको मात्र बसोबास रहेको ओदकका विपन्न ३० परिवारको घरमा जास्तापाताले छाना छाउने काम सम्पन्न भएसँगै मङ्गलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले फुस र चित्राको छाना विस्थापनले नागरिकलाई ठूलो राहत पुगेको बताउनुभयो । घरको छाना जस्तापाताले छाएपछि विपन्नले वर्षात्को समयमा चुहिने घरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ ।

मैवाखोला गाउँपालिकाको छ वटै वडाका १७४ घरमा जस्तापाताले छाउने योजना स्वीकृत भएको छ । उक्त सङ्ख्यामध्ये हाल ३० परिवारको घरमा जस्तापाता छाइसकिएको हो भने बाँकी परिवारको घरमा क्रमशः जस्तापाताले छाना छाउने प्रक्रिया रहेको गाउँपालिका अध्यक्ष राजनकुमार थक्लुङले बताउनुभयो । भवन निर्माण आयोजनाबाट प्रतिपरिवार रु ५० हजारका दरले बजेट निकासा भई विपन्नको घरमा जस्तापाताले छाउने कार्य अगाडि बढाइएको उहाँको भनाइ छ ।

नौ वटा स्थानीय तह रहेको ताप्लेजुङमा विपन्न एक हजार ८१४ परिवारको घरमा फुसको छाना हटाएर जस्तापाताले छाइने भएको छ । मैवाखोलाबाहेक फुङ्लिङ नगरपालिकामा १९० परिवार, फक्ताङ्लुङ गाउँपालिकामा २४५, सिरिजङ्घामा १६७, सिदिङ्वामा २९०, पाथीभरा याङ्वरकमा २००, मेरिङ्देनमा १८८, आठराई त्रिवेणीमा २१३ र मिक्वाखोला गाउँपालिकामा १४७ परिवारको घरमा जस्तापाताले छाइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !