७ बैशाख २०८१, शुक्रबार

ग्रामीण भिडियो एक्सरेमा महिलाको सहभागिता


धादिङ, ३ कात्तिक । कोभिड–१९ को महामारीका बेला गाउँमा आएर बसेका गर्भवतीको टोलटोलमा पुगेर भिडियो एक्सरे गरिएको छ । गङ्गाजमुना गाउँपालिकामा साताव्यापी ग्रामीण भिडियो एक्सरे कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाले आफ्ना पाँच स्वास्थ्यचौकी र एक स्वास्थ्यविन्दुमा दुई वर्षअघिदेखि सञ्चालन गरेको ग्रामीण भिडियो एक्सरे सेवाले गर्भवतीमा खुशीयाली छाएको छ ।

कोरोना भाइरसको महामारीले शहरमा बस्ने महिलासमेत गाउँ आएका छन् । उनीहरु शहरमा महँगा स्वास्थ्य संस्थामा जान नसक्ने अवस्था छ । गाउँपालिकाले सञ्चालन गरेको ग्रामीण भिडियो एक्सरे सेवाबाट गर्भवतीका लागि सहयोग पुगेको छ ।

भिडियो एक्सरे सेवा लिएपछि महिलाको पेटमा बसेको गर्भका शिशुका बारेमा जानकारी हुने र कसरी बसेको छ भन्ने जानकारी पाएपछि सुत्केरी गराउन कस्तो स्वास्थ्य संस्था जाने भन्ने जानकारी पाउने भएकाले ग्रामीण भिडियो एक्सरे सेवा प्रभावकारी बन्दै गएको भिडियो एक्सरे सेवा लिएर गाउँगाउँ पुग्नुभएका सुनिता अधिकारीले बताउनुभयो । जटिलावस्थामा कुनै सुत्केरी भए सोबारेमा परिवारलाई जानकारी पाएपछि यस पटकको भिडियो एक्सरे कार्यक्रमबाट १० जनाभन्दा बढी त्यस्ता महिलालाई उचित सल्लाह दिएर स्वास्थ्य संस्थामा जानका लागि आग्रह गरिएको अधिकारीले बताउनुभयो ।

भिडियो एक्सरे सेवा बसेरीमा २५, बुढाथुममा २४, फूलखर्क ग्रामीण अस्पतालमा २०, गुम्दीमा २७, री गाउँमा २२ र ताजिम्राङमा १७ जनाले लिएका छन् । एउटा ल्यापटपका सहायताबाट यसका लागि केही सामग्री लिएर गाउँमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन गरिने भिडियो एक्स–रेबाट गर्भवतीलाई स्वास्थ्य सेवाको पहुँच पुगेको महिलाको भनाइ छ । गाउँपालिकाले सहयोग गरेर गरिएको कार्यक्रम अब निरन्तर सञ्चालन हुने गङ्गाजमुना गाउँपालिका स्वास्थ्य शाखा संयोजक दीपक अधिकारीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !