७ बैशाख २०८१, शुक्रबार

दुग्ध विकास संस्थानको बिक्री केन्द्र सञ्चालन


डेरी उद्योग

लमही, ३ कात्तिक । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा विस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।

घोराही–१४ को राप्ती टोलबाट सेवा शुरु गरिएको हो । संस्थानका अध्यक्ष वसन्त गिरीले पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दूधको केन्द्रका रुपमा निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । दूध उत्पादनका दृष्टिकोणले दाङ राम्रो सम्भावना भएको क्षेत्र भएकाले आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यमा संस्थानले घोराही क्षेत्रमा दूध सङ्कलन केन्द्रसमेत निर्माण गरी प्रशोधन गरेर बजारीकरण गरिने योजना राखिएको उहाँको भनाइ छ ।

कोरोना महामारीका बेलामा बजारमा दूधको खपत अहिले आधा घटेको बताउँदै उहाँले संस्थानले घाटा सहेर भए पनि कृषकले उत्पादन गरेको दूध खरीद गरी व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो । मुलुकभर संस्थानको दुई लाख लिटर दूध विगतमा खपत हुने गरेकामा हाल त्यसको खपत झण्डै आधा घटेको छ । उहाँले प्रतिलिटर रु १७ घाटा सहेर पनि कृषकलाई राहत प्रदान गरिएको बताउनुभयो ।

दूधमा प्रतिलिटर रु ५ मुनाफा आर्जन गरेर विगत वर्षमा रु चार करोड मुनाफा कमाएको संस्थानले नाफामुखी मात्रै नभई सेवामुखी भएर पनि काम गरिरहेको बताएको छ । दाङका लमही र तलसीपुर क्षेत्रबाट यसअघि सेवा प्रदान गर्दै आएको दुग्ध विकास संस्थानले निकट भविष्यमा घोराही क्षेत्रमा पनि पूर्वाधार निर्माण गरी दुग्ध उत्पादक कृषकको दूध खरीद गर्ने योजनाका साथ काम अघि बढाइएको उहाँको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय दाङका प्रमुख डा वेदबहादुर केसीले प्रशोधित दूध सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुने बताउनुभयो । दुग्ध विकास संस्थानले सरकारले तोकेको मूल्यमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !