८ बैशाख २०८१, शनिबार

उत्कृष्ट काम गर्ने नौ प्रहरी पुरस्कृत


मनमाया भट्टराई

नवलपुर, ३० असोज । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने नौ प्रहरीलाई पुरस्कृत गरेको छ । आज ६५औँ प्रहरी दिवसका अवसरमा कावासोतीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले सो सम्मान गर्नुभएको हो ।

दिवसकै अवसर पारेर जिल्लामा आयोजित ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडी तथा विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने इलाका प्रहरी कार्यालय दुम्किबास र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)लाई समेत नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

चाडपर्व केन्द्रित एकीकृत सुरक्षा योजना अन्तर्गत प्रहरीले सञ्चालन गरेको साइकल गस्तीको समेत प्रहरी दिवसकै अवसर पारेर शुक्रबार उद्घाटन गरिएको छ । प्रहरी दिवस तथा साइकल गस्तीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पङ्गेनीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरीले उत्कृष्ट काम गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लामा चाडपर्वलाई शान्त, व्यवस्थित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !