१२ बैशाख २०८१, बुधबार

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ


कोरोना भाइरस

गलकोट, १५ भदौ । कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ ।

ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक्षित गरी आइतबारदेखि उक्त अभियान शुरु गरिएको हो । अभियानको पहिलो दिन बागलुङ बजारको जीप पार्कमा मोबाइल फुड बैंक राखिएको थियो । स्वतःस्फूर्त सहयोग सङ्कलन र वितरणको काम भएको क्लबका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । सङ्कटको समयमा कुनै पनि नागरिक भोकै बस्न बाध्य नहुन भन्ने अभिप्रायले यस्तो अभियान शुरु गरिएको उहाँको भनाइ छ । “भएकाले एक पोका, दुई पोका जति दिएर गए पनि हुन्छ, नभएकाले झिकेर लान सक्नेछन्”, उहाँले भन्नुभयो, “सङ्कटमा बाँडीचँुडी खानुपर्ने भावना पैदासमेत अभियानले गराउने आशा राखिएको छ ।”

अभियानको पहिलो दिन दैनिक जीविका चलाउन कठिन भएका ४३ ले मोबाइल फुड बैंकमार्फत राहत सामग्री लगेका संयोजक घिमिरेले जानकारी दिनुभयो । राहत सामग्रीमा प्रतिव्यक्ति तीन केजी चामल, एक पोका तेल, आधा केजी दाल उपलब्ध हुनेछ । यस्तो अभियान आवश्यकताअनुसार बागलुङ बजारका विभिन्न स्थानमा सञ्चालन हुनसक्ने क्लबले जनाएको छ ।

अभियानका क्रममा सोमबार लोकतान्त्रिक चोकमा मोबाइल फुड बैंक राखिने र प्राप्त सहयोगअनुसार यसलाई निरन्तरता दिइने लियो क्लबका अध्यक्ष क्लबका अध्यक्ष सन्देश बोगटीले बताउनुभयो । क्लबले सञ्चालन गरेको अभियानबाट खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जान सक्नेछन् । क्लबले शुरु गरेको अभियानमा स्वतःस्फूर्त सहयोग प्राप्त हुनसमेत थालिसकेको छ । अभियान यहाँका बजारका मुख्य चोकमा सञ्चालन गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !