४ बैशाख २०८१, मंगलबार

परिवारले शव बुझ्न मानेनन्, क्षतिपूर्तिको माग


मृत्युु

बैतडी, २ भदौ । सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा दुई बालकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन् ।

सोमबार अपराह्न खाल्डोमा डुबेर मृत्यु भएका दशरथचन्द नगरपालिका–२ देहीमाडौँका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको दुई दिनसम्म पनि शव परिवारजनले बुझेका छैनन् ।

सडकमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर दुवैको मृत्यु भएकाले आफन्तले क्षतिपूर्तिको माग गरेका हुन् । घरपरिवारले रु २० लाख क्षतिपूर्तिको माग गर्दै शव बुझ्न नमानेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो ।

देहीमाडौँ–गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका– २ सुन्दरखालीमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएकाले निर्माण व्यवसायीले क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गरेका छन् । क्षतिपूर्ति नदिँदासम्म आफूहरुले शव नउठाउने उनीहरुले अडान छ ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेपछि शव बुझ्न नमानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । मृतकका आफन्तले क्षतिपूर्ति माग गरेपछि आज निर्माण व्यवसायी र मृतकका आफन्तबीच छलफल हुने बताइएको छ । उक्त सडक प्रदेश सरकारको सहयोगमा चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले स्तरोन्नतिको काम गरिरहेको हो ।

ह्युमपाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षात्को पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार अपराह्न ४ः३० बजेतिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको थियो । एकै गाउँका दुईको ज्यान गएपछि पूरै गाउँ शोकमग्न भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !