, बन्दाबन्दीको सदुपयोग चुराको व्यापार

बन्दाबन्दीको सदुपयोग चुराको व्यापार

वीरेन्द्रनगर, १६ असार । कोरोना भाइरसको रोकथामका लागि गरिएको बन्दाबन्दीको समयमा कतिपय महिलाको दिनचर्या फेसबुक हेरेर, सुतेर या यस्तै केही गरेर बित्यो होला । अनि केहीलाई कामबाट पन्छिन पनि बन्दाबन्दी एक गतिलो वाहाना बन्यो होला । तर वीरेन्द्रनगर–८ की वसन्ता शाहीलाई भने बन्दाबन्दीको समयमा यसरी दिन काट्ने समय भएन, आफ्नै कामले भ्याइनभ्याई भयो । त्यस अवधिभर उहाँ चुरा बनाउन व्यस्त हुनुभयो । बिहान बेलुकाको भान्साको समयबाहेकको अरु समय उहाँले चुरा बनाएरै बिताउनुभयो ।

वर्षदिन यतादेखि उहाँले चुरा बनाउने उद्यम शुरु गर्नुभएको छ । त्यही सीपले उहाँलाई लकडाउनको बेलामा पनि खाली हात बस्नु परेन । चुरा बनाएरै मासिक रु २५ देखि ३० हजारसम्म कमाउने गरेको उहाँ बताउनुहुन्छ । ‘‘बन्दाबन्दीको समयमा व्यापार केही कम भए पनि धेरै दिदीबहिनीहरुको ‘अर्डर’ आएको छ, त्यहीअनुसार बनाएकी छु’’ उहाँ भन्नुहुन्छ । लकडाउनको समयमा पनि आम्दानी नटुटेको र काममै व्यस्त भएको उहाँले बताउनुभयो ।

उहाँले पाँच किसिमको मेटलका चुरा निर्माण गर्ने गर्नुभएको छ । चुराको माग बढेसँगै उहाँले कानमा लगाउने टप, घाँटीमा लगाउने माला र पोते पनि बनाउन थाल्नुभएको छ । उहाँले बनाएका एक जोड चुराको मूल्य रु ५० देखि तीन सय ५० सम्म पर्छ । यो मूल्य बजार मुल्यभन्दा रु ५० देखि एक सय सस्तो हो । वसन्ता भन्नुहुन्छ, ‘‘खाना बनाउँदै पनि चुरा बनाउँछु, कहिलेकाहीँ त राति उठेर पनि बनाउँछु ।’’

उहाँले कपडा सिलाउने काम पनि गर्नुहुन्छ । बन्दका कारण बजार जान नसकेका स्थानीय छिमेकीहरु उहाँको कोठामै गएर कपडा सिलाउने गरेका छन् । ‘‘लकडाउनमा अन्य बेलामाभन्दा कमाई अलि कम भएको छ त्यसैले अहिले सिलाउने काम पनि सँगै अघि बढाएको हो’’ उहाँ भन्नुहुन्छ । सिलाइ कटाइको तालिम पनि लिएकी वसन्ताले अहिले लकडाउनको बेलाको सदुपयोग गरेको बताउनुभयो ।

उहाँले टोलका महिलाहरुलाई आफ्नो सीप पनि सिकाउनुहुन्छ । जिल्लाका विभिन्न ठाउँहरुबाट उहाँसँग तालिमका लागि जाने गरेका छन् । पछिल्लो समय छिमेकी जिल्लाहरुबाट पनि तालिममा सहजीकरण गरिदिन उहाँको माग भएको उहाँ बताउनुहुन्छ । चुरा बनाउन थालेपछि वसन्ताले घरखर्च आफैँ जुटाउन थाल्नुभएको छ । छोराछोरीको पढाइदेखि सम्पूर्ण घरखर्च आफैँ टार्नसक्ने भएको उहाँ बताउनुहुन्छ । घरखर्च चलाएर पनि उहाँले मासिक केही बचत गर्ने गर्नुहुन्छ ।

श्रीमतीले घरमै बसेर आम्दानी गर्न थलेपछि उहाँका श्रीमान पनि खुशी हुनुहुन्छ । उहाँका दुई छोरी र एक छोरा छन् । श्रीमानको कमाइले मात्र डेराभाडादेखि सम्पूर्ण खर्च चलाउन मुस्किल हुने भएकोले आफूले पनि सीप सिकेको उहाँ बताउनुहुन्छ । वसन्ताले ‘सुर्खेती चुरा’ उद्योगको रुपमा विकास गर्ने योजना बनाउनुभएको छ । यसैसम्बन्धी तालिम सेन्टर सञ्चालन गर्ने पनि उहाँको सोच छ । ‘‘मैले जानेको सीप सिकाएर अरु दिदीबहिनीहरुलाई पनि आर्थिक रुपमा सक्षम र रोजगार बनाउँछु’’ उहाँ भन्नुहुन्छ, ‘‘आत्मनिर्भर भइयो भने महिलामाथि घरपरिवारले गर्ने व्यवहारमा पनि फरक हुने रहेछ भन्ने कुराको अनुभव गरेकी छु ।’’ समाजमा हुने गरेका महिला हिंसाको अन्त्यका लागि पनि महिलाहरु आत्मनिर्भर हुन जरुरी रहेको उहाँको सुझाव छ ।

वसन्ता जस्तै वीरेन्द्रनगरका यामु पुलामी पनि यस्तै चुरा बनाएर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । गएको महिना दिनमा रु १५ हजार आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । आफूले बनाएको चुराको अहिले धेरै माग आएको भन्दै उहाँले माग अनुसारको चुरा बनाउन नभ्याइएको बताउनुभयो ।

आफ्नो टोलमा चुरा बनाएको थाह पाएपछि वीरेन्द्रनगरकी हीरा सिंह पनि वसन्तासँगै सिक्न आउनुहुन्छ । हीराको पनि वसन्ता र यामु जस्तै सीपमा दखल राखेर आत्मनिर्भर हुने चाहना छ । यही चाहना पूरा गर्न उहाँ चुरा बनाउने काम सिक्न थाल्नुभएको छ । ‘‘दिनभर खाली बस्दा दिमाग भारी हुने र अनेक सोचाइ आउने भएकोले तालिममा आउन थालेको हीराको भनाई छ । उहाँले पनि सीप सिकेर व्यवसाय अपनाउने चाहना छ । यो सीप सिक्ने काम लकडाउनको समय सदुपयोग गर्नको लागि राम्रो उपाय भएको उहाँको भनाई छ ।

वुटवल र रुपैडियालगायतका बजारका चुरा लगाउँदै आएका यहाँका स्थानीय महिलाहरु स्थानीय स्तरमै उत्पादन गरेको चुरा लगाउन पाएकोमा खुशी व्यक्त गरेका छन् । स्थानीय सरस्वती थापाले यही उत्पादन भएको चुरा लगाउँदै आएको बताउँनुहुन्छ । ‘‘बाहिरबाट ल्याएको चुराभन्दा यहीँ बनाएको राम्रो र बलियो छ’’ उहाँ भन्नुहुन्छ, ‘‘चुराको पैसा बाहिर पठाउनुभन्दा आफ्नै दिदीबहीलाई थोरै भएपनि आम्दानी हुन्छ ।’’

सुर्खेतको एक गैरसरकारी संस्था आवाजले छ दिने तालिम सञ्चालन गरेपछि यहाँका महिलाहरु चुरा निर्माण गर्ने काममा आकर्षित भएका हुन् । अहिले उनीहरु आत्मनिर्भरतातर्फ उन्मुख पनि भएका छन् । वसन्ता र यामुजस्तै तालिम लिएका अन्य महिलाले पनि टोलटोलमा चुरा बनाउन थालेका छन् ।

नेपालगञ्ज र वुटवलको बजारबाट ल्याएको चुरा लगाउँदै आएका यस क्षेत्रका महिलाले पहिलोटक स्थानीयस्तरमै निर्मित चुरा लगाउन पाएका छन् । बजार मूल्यभन्दा सस्तो पनि पर्ने र राम्रो पनि देखिने भएकोले स्थानीय चुराले बजार पाएको छ । यसतर्फ सुर्खेती महिलाहरु आकर्षित भएका छन् ।