६ बैशाख २०८१, बिहिबार

लालझाडीमा वन्यजन्तुको ‘क्यामेरा ट्रा्याापिङ’


कञ्चनपुर, ३० जेठ । कञ्चनपुरको लालझाडी संरक्षित वन क्षेत्रमा रहेका वन्यजन्तुको अवस्थाबारे अध्ययन गर्न ‘क्यामेरा ट्रा्याापिङ ’जारी रहेको छ ।

वन्यजन्तुको वासस्थान, वन्यजन्तुका प्रजाति पहिचान गर्न र सङ्ख्या यकिन गर्न सो कार्य शुरु गरिएको थियो ।

यही जेठको पहिलो सातादेखि संरक्षित वन क्षेत्रको ‘कोर’ एरियालाई छाडेर अन्य क्षेत्रमा ट्रा्यापिङको कार्य भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले बताउनुभयो ।

वन्यजन्तुको अवस्था पहिचानसँगै वन्यजन्तुको चोरी शिकारी र वनपैदावार तस्करी गर्नेहरुको पहिचान गर्नका लागि क्यामेरा ट्रा्यापिङको कार्य अगाडि बढाएका छौँ कार्यालय उहाँले भन्नुभयो, “एक महिनासम्म क्यामेरा ट्रा्यापिङको कार्य जारी रहन्छ ।”

तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा संरक्षित वन क्षेत्रमा सो कार्य भइरहेको छ । संरक्षित वन क्षेत्रको चुरेदेखि तराईका क्षेत्रसम्म ४० वटा स्वचालित क्यमेरा जडान गरिएका छन् ।

वन्यजन्तुले हिँड्ने करिडर, घाँसे मैदान, वन क्षेत्रका रहेका ताल तलैया, सम्भावित वन्यजन्तु र वनपैदावारको चोरी हुने क्षेत्रमा क्यामेरा राखिएका छन् ।

सो कार्यका लागि डिभिजन वन कार्यालयका दुई र तालका चारजना कर्मचारीलाई खटाइएको छ । ती कर्मचारीले दैनिक क्यामेरा जडान गरेका ठाउँमा पुगेर जानकारी सङ्कलन गर्ने कार्य गरिरहेका छन् ।

क्यामेरा ट्रा्यापिङको सहायताले गरिएको अध्ययनमा हालसम्म वन क्षेत्रमा चित्तल, ठूलो बिरालो, चितुवा, निलगाई, बँदेललगायतका जनावर देखा परेका छन् ।

संरक्षित वन क्षेत्रमा जडान गरिएका मध्ये तीनवटा क्यामेरा चोरी भएका छन् । क्यामेरा चोरी गर्नेको खोजी कार्य शुरु गरे पनि हालसम्म फेला नपरेको उहाँले बताउनुभयो ।

जेठ मसान्तमा क्यामेरा ट्रा्यापिङको कार्य पूरा भएपछि वन क्षेत्रमा क्यामेरामा देखिएका वन्यजन्तु र चोरी शिकारीको अवस्थाबारे विश्लेषण गरी अध्ययनमा खटिएका व्यक्तिले डिभिजन वन कार्यालयमा प्रतिवेदन पेश गर्ने छन् ।

प्रतिवेदनका आधारमा वन्यजन्तु संरक्षण, वासस्थानमा सुधार र चोरी शिकारी नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे डिभिजन वन कार्यालयले योजना बनाई कार्यान्वयन गर्ने बताइएको छ । लालझाडी संरक्षित क्षेत्र हात्ती, पाटेबाघलगायतको आवतजावत गर्ने बसोवास गर्ने वासस्थानका रुपमा परिचित रहेको छ ।

वन, जैविक विविधता तथा जैविक मार्गको व्यवस्थापनका लागि संरक्षित वन घोषणा गरिएको हो । संरक्षित वनको ८७ प्रतिशत भाग तराई र १३ प्रतिशत भाग चुरे क्षेत्रमा पर्छ । संरक्षित वनको क्षेत्रफल २९ हजार ६४१ दशमलव ७५ हजार हेक्टर रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !