४ बैशाख २०८१, मंगलबार

महाङ्काल र वाग्मती गाउँपालिकामा हावाहुरीले क्षति


Hawahuri

ललितपुर, १४ जेठ । ललितपुरको महाङ्काल र वाग्मती गाउँपालिकामा मङ्गलबार आएको हावाहुरीले क्षति पु¥याएको छ । महाङ्कालका ६ वडामध्ये आँधीले वडा नं ६ ठूलादुर्लुङमा मात्र रु ४० लाखबराबरको अन्न र मकैबालीमा क्षति पु¥याएको वडाध्यक्ष रामकृष्ण आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरीले बारीका मकैका साथै ज्वालादेवी आधारभूत र महेन्द्र माध्यमिक विद्यालयको छानो तथा १५ वटा निजी घरका छाना उडायो ।”

ठूलादुर्लुङमा ९० प्रतिशत मकैबाली सखाप भएको आचार्यले बताउनुभयो । उहाँले थप्नुभयो, “वडामा दुई लाखबाराबरको केराखेती नष्ट, ३० वटा तरकारीका टनेलमा पूर्णरुपमा क्षति पुगेको छ, लालबहादुर रुम्बाका परिवार विस्थापित हुन पुगेका छन् ।”

वाग्मतीको वडा नं ७ गिम्दीमा हावाहुरीले क्षति पु¥याएको छ । गिम्दीको कटुवा, बेसी, मगरगाउँ, बाँजगाउँ, थुम्की, शुभानेलगायत क्षेत्रमा जस्ताका टहरा उडाउँदा बसोबासमा समस्या उत्पन्न भएको स्थानीयवासी कृष्ण बलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका ७० प्रतिशत बारी र खेतमा उत्पादन भइरहेका मकैबाली नष्ट भएका छन् ।”

हावाहुरीले महाङ्कालको वडा नं ३ गोटीखेलपारि वडा नं ४ कालेश्वर तथा ६ ठूलादुर्लुङ र वाग्मतीको वडा नं ४ प्युटार, वडा नं ५ इकुडोल, वडा नं ६ आश्राणका साथै ७ गिम्दीमा विद्युतीय सेवा क्षति भई बन्द भएको दक्षिण ललितपुर विद्युत् सहकारीका अध्यक्ष गोविन्द बजगाईंले बताउनुभयो ।

ललितपुरको लगनखेल बसपार्कबाट ठूलादुर्लुङ सबैभन्दा टाढा ७५ किलोमिटर र गिम्दी ७० किलोमिटरमा अवस्थित छ । कोञ्ज्योसोम, महाङ्काल र वाग्मतीमा रहेका १८ वडामध्ये ठूलादुर्लुङ विशेषगरी कफीको पकेट क्षेत्रका रुपमा चिनिन्छ । ठूलादुर्लुङको कफी अमेरिका, अष्ट्रेलिया, जापान, होल्याण्ड निर्यात हुने गरेको स्थानीयवासी दीपकप्रसाद घिमिरेले बताउनुभयो । ठूलादुर्लुङ र गिम्दीका ९९ प्रतिशत कच्चीघरमा जस्ताको छानो हालिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !