१२ बैशाख २०८१, बुधबार

आफ्नै पार्टीका मन्त्री विरुद्ध विद्यार्थी आन्दोलनमा


आफ्नै पार्टीका मन्त्री विरुद्ध विद्यार्थी

भाद्र २१, २०७४, काठमाडौ । अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधन विधेयकको सत्ताधारी दल काँग्रेसकै भातृ संगठनका विद्यार्थीले विरोध गरेका छन् । परीक्षामा फेल भएपनि आर्थिक सुविधा र ६० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने प्रस्ताव सहित ऐन संशोधनको तयारी भएपछि शिक्षक बन्ने सपनाका साथ शिक्षाशास्त्र पढिरहेका विद्यार्थीको सपना तुहिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

विधेयक विरुद्ध संसदमा चर्को आलोचना मात्रै हैन सांसदहरुले ३७ वटा संशोधन समेत हालेका छन् । यही बिचमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय विभागका विद्यार्थीले पनि ऐन संशोधनको विरोध शुरु गरेका हुन् ।

 हस्ताक्षर संकलन

अन्दोलनको नेतृत्व मन्त्री गोपालमान श्रेष्ठकै दल काँग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले गरेको छ । समितिका अध्यक्ष श्यामचन्द्र अधिकारीले भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएर शिक्षा शास्त्र पढिरहेका विद्यार्थीलाई बेरोजगार बनाउने षड्यन्त्र गरेको आरोप लगाउँदै शिक्षा ऐनको नवौं संशोधनको विरुद्धमा उत्रिनु परेको बताए ।

‘नवौं संशोधनले वर्षौंदेखि अस्थायी भएर अध्यापन गरिरहेका शिक्षकलाई लाभ भए पनि मिहिनेत र परिश्रम गरी शिक्षक बन्ने धोको बोकेका हजारौं विद्यार्थी माथि अन्याय हुने भएको छ,’ अधिकारीले भने, ‘आठौं संशोधनमा व्यवस्था भए अनुसार गोल्डेन ह्याण्डसेक लिएर शिक्षण गर्न नचाहेकालाई समेत शिक्षक बनाउने विधेयक विरुद्ध हामी आन्दोलित भएका हौं ।’

विद्यार्थी संघले शिक्षा ऐन संशोधनको विरोधमा बिहीबार त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा हस्ताक्षर समेत संकलन गरेको छ । हस्ताक्षर संकलनमा शिक्षा शास्त्र अध्ययनरत विद्यार्थीले आफूहरुलाई रोजगारबाट बञ्चित गराउने गरी ल्याइएको शिक्षा ऐनको विरोधमा ऐक्यवद्धता जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !