८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिका लैजान छलफल


प्रधानमन्त्री केपी शर्मा ओली

मंसीर १७, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ । प्रधानमन्त्री ओलीको एक हप्तामै दुईचोटी डायलासिस गरिसकिएको छ । नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए । अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भई रहेतापनि अमेरिका लैजाने सम्भावना बलियो रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन् । नातामा भान्जे पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ । प्रधानमन्त्री ओलीको उपचारको व्यवस्थापनकै लागि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि काठमाडौंमै छन् । काठमाडौं बोलाइएपछि उनी तीन दिनअगाडि स्वदेश आएका हुन्। प्रधानमन्त्री ओलीका शुक्रबार गरिने स्वास्थ्य परिक्षणको विवरण हेरेपछि यससम्बन्धी निर्णय गरिने स्रोतले जनाएको छ । यो खवर आजको अन्नपूर्ण पोष्टमा दिनेश गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !