७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा


सूर्य थापा

२९ कात्तिक, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन् । कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री ओलीले थापालाई सल्लाहकार बनाएका हुन् । आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकास विज्ञमा गजेन्द्र थपलिया नियुक्त भएका छन् ।

नेकपा नेतृत्व र केही निकट नेतासँगको छलफलपछि प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख समेत रहेका थापालाई सल्लाहकार नियुक्त गरेका हुन् । थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदासमेत प्रेस सल्लाहकार बनिसकेका नेता हुन् । उनको पृष्ठभूमि समेत पत्रकारिता भएकाले उनलाई प्रेस सल्लाहकार बनाइएको हो ।

जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, विकास विज्ञ घनश्याम भट्टराई, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा भने स्वीकृत भएको छ ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस विज्ञ रामशरण बजगाईँ, प्रविधि सल्लाहकार अस्गर अली, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य लगायतलाई यथावत राखिएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्ने योजना सहित सबै सल्लाहकार र सहयोगीलाई राजीनामा दिन निर्देशन दिएका थिए । सोही अनुसार सबै सल्लाहकार र सहयोगीले राजीनामा दिएका थिए । पुनगर्ठित प्रधानमन्त्रीको सचिवालयमा १० जना छन् । यसअघि १४ जना थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !