१२ बैशाख २०८१, बुधबार

बडादशैँको अवसरमा राष्ट्रपतिको शुभकामना (शुभकामना सन्देशसहित)


Bidhaya Devi Bhandari बिद्यादेवी भण्डारी

असोज २१, काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” का अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानता सहितको सामाजिक-आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त ब्यक्त गर्नुभएको छ ।

यस्तो छ राष्ट्रपतिको शुभकामना सन्देश

नेपालीहरूको महान चाड वडा दशैं/विजयादशमी, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।

विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रूपमा मनाइने विशेष महत्वको चाड हो । यो पर्व घटस्थापनादेखि प्रारम्भ भई नवरथा हुँदै कोजाग्रत पुर्णिमासम्म विविध साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्दै पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ । यस पर्वले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक-आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भातृत्व अभिबृद्धिमा टेवा पुर्‍याउने विश्वास मैले लिएको छु ।

हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्‍न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्‍न महत्वपूर्ण योगदान गरिरहेका छन् । यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्‍ने मलाई लाग्दछ ।

अन्तमा, विजयादशमी पर्व, २०७६ ले हामी सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प हासिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७६ असोज २१ गते, मंगलबार ।

राष्ट्रपतिको शुभकामना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !