८ बैशाख २०८१, शनिबार

अधिकार प्राप्तिका लागि एकताबद्ध हुँदै लेप्चा


Nepalpatra

इलाम, २ असोज । लोपोन्मुख तथा पिछाडा वर्गमा पर्ने लेप्चा जाति पछिल्ला समय साङ्गठित हुन थालेका छन् ।

अधिकारको पहुँचमा पुग्न र एकताबद्ध आवाज उठाउनका लागि लेप्चा साङ्गठित हुन थालेका हुन् । यहाँको रोङ (लेप्चा) गाउँपालिका र सूर्योदय नगरपालिकामा लेप्चा जातिको बाहुल्यता रहेको छ । विभिन्न हिसाबले पछि परेका यी जातका व्यक्ति भने पछिल्लो समय साङ्गठित हुँदै ग्रामीण विकासमा लागेका हुन् । लेप्चाको बाहुल्य रहेको रोङ गाउँपालिकाको वडा नं १, २ र ४ मा वडास्तरीय लाप्चा उत्थानमञ्च गठन गरिएको छ ।

लेप्चाको रोङ गाउँपालिका–१ मा दिनेश लेप्चाको अध्यक्षतामा गठिन मञ्चमा उपाध्यक्षमा ललितबहादुर लाप्चा, सचिवमा मनिका लाप्चा, सहसचिवमा पदम लाप्चा र कोषाध्यक्षमा मनकुमारी लाप्चा चयन हुनुभएको हो ।

त्यस्तै वडा नं– २ मा बुद्ध लाप्चाको अध्यक्षतामा बनेको समितिको सचिवमा दीपेन लाप्चा तथा सदस्यमा सुकमित, मानबहादुर, शान्ता, हरि र बन्दना लाप्चा रहेका छन् । यसैगरी वडा नं.४ मा पनि सन्देश लाप्चाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा लक्ष्मी लाप्चा र सचिवमा बिमला लाप्चा रहेका छन् ।

सङ्ग्रहालय निर्माण हुने

लेप्चा जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले यहाँको रोङ गाउँपालिकाले सङ्ग्रहालय निर्माण गर्ने भएको छ । लेप्चा जातिको लागि २० वर्षे राणनीतिक योजना निर्माण गर्दै गाउँपालिकाले पाँच वर्षभित्रमा सङ्ग्रहालय निर्माण गर्ने निर्णय गरेको हो ।

आधुनिकताका कारण संस्कृति, वेषभूषा लोपहुँदै गएकाले गाउँपालिकाले संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्ने भएको गाउँपालिका अध्यक्ष समशेर राईले जानकारी दिनुभयो । रोङ गाउँपालिकाका छ वटै वडामा २३४ घरधुरी लाप्चा परिवार बसोवास गर्दछन् । गाउँपालिकाको तथ्याङ्कअनुसार रोङ गाउँपालिकामा ५३७ पुरुष र ५२३ जना महिला गरी एक हजार ६० जना लाप्चाको जनसङ्ख्या रहेको छ ।

नेपालमा रहेको लाप्चाको जनसङ्ख्याको २८ दशमलब ९० प्रतिशत लाप्चा यही गाउँपालिकामा बसोवास गर्ने गरेको तथ्याङ्क छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !