८ बैशाख २०८१, शनिबार

पशु मार्नेलाई कारवाहीको माग


काठमाडौँ, १६ भदौ । पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा भीरबाट खसालेर मारिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको माग गरिएको हो ।

पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माले आफूलाई गरेको पीडाको स्वरवाट व्यक्त गर्न नसक्ने पशुको पीडाका पक्षमा बोल्नुपर्नेमा जोडदिँदै पशुको संरक्षणका लागि निर्दयीतापूर्वक मार्ने क्रियाकलाप रोक्न पशुकल्याण ऐनको तर्जुमा भइरहेको बताउनुभयो । उहाँले सो ऐन निकट भविष्यमा कार्यान्वयमा आउने बताउनुभयो ।

उहाँले नेपालले पनि वर्षमा एक पटक विश्व पशु दिवस मनाउँदै आएको जानकारी दिँदै पशुलाई पनि बाँच्ने अधिकार भएकाले बस्ने तथा खाने ठाउँको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल भेटेरीनरी एशोशिएशनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले देशको पूर्व र पश्चिममा गाई र कुकुरलाई सामूहिक रुपमा मारिएकामा चिन्ता व्यक्त गर्दै यसमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखको संलग्नता भएको भनी उहाँलाई हदैसम्म कारवाही गर्न माग गर्नुभयो ।

नेपालगञ्जबाट २९० गाई दैलेख पठाइएकामा सुर्खेतमा ३० गाई मारिएका र १४४ गाई जङ्गलमा अलपत्ररुपमा छाडिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै खोटाङमा दुई दर्जन कुकुरलाई कुटीकुटी निर्ममतापूर्वक मारिएको र अरु धेरै कुकुर घाइते अवस्थामा रहेको उहाँले बताउनुभयो । अधिवक्ता पदमबहादृुर श्रेष्ठले कुकुर र गाईको हत्या गर्नेविरुद्ध कानूनी कारवाहीको स्पष्ट व्यवस्था रहेको र दोषीलाई हदैसम्म कारवाही गर्नुपर्ने बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेलले सुर्खेतमा गाई तथा कुकुर मारिएको घटनाले समाजमा चिन्ता व्याप्त भएकाले सरकारले यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले कुकुरलाई बन्ध्याकरण गर्नाको साटो कुटीकुटी मार्ने काम आपराधिक भएको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !