१३ बैशाख २०८१, बिहिबार

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रद्धारा अपाङ्गता मैत्री तालिम सामाग्री हस्तान्तरण


६ भदौ , काठमाण्डौं, शर्मिला विश्वकर्मा । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक पुष्कर कार्कीलाई अपाङ्गतामैत्री तालिम पाठ्यक्रम सामाग्री हस्तान्तरण गरिएको छ ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेँडाईले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका तालिममा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्नका लागि अनुरोध गरिएको पत्र पढेर सुनाउदै उक्त पत्रका साथ अपाङ्गता मैत्री तालिम पाठ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुसँग वृहत छलफल गरी आवश्यक सल्लाह सुझाव अनुरुप अपाङ्गता मैत्री तालिम पाठ्यक्रम सामाग्री निर्माण गरिएको बताउनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा.विरेन्द्रराज पोखरेलले अपाङ्गता मैत्री तालिम पाठ्यक्रममा समावेश गरिएका सामाग्रीहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका तालिमहरुमा समावेश गर्नको लागि आग्रह गर्नु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले यस्ता तालिमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवाल समावेश गर्ने र अपाङ्गताको विषयमा जानकारी दिने कार्यक्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक पुष्कर कार्कीले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले उपलब्ध गराएको अपाङ्गता मैत्री तालिम पाठ्यक्रम सामाग्रीमा समावेश गरिएका अपाङ्गता भएका व्यक्तिहरुका विषयलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने तालिममा समावेश गर्ने बताउनु भयो ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन गर्ने क्रममा राष्ट्रिय न्यायिक प्रतिष्ठानका तत्कालिन कायम मुकायम कार्यकारी निर्देशक माननिय श्रीमान विनोद शर्माको संयोजकत्व, डि.एस.पि. प्रकाश मल्लको सह-संयोजकत्व तथा कानून विदहरु, अपाङ्गता अधिकारकर्मीहरु सहितको कार्यदल मार्फत अपाङ्गता मैत्री पाठ्य सामाग्री तालिम पाठ्यक्रम सामाग्री बनाइएको बताउनु भयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !