८ बैशाख २०८१, शनिबार

दुई समिति भएपछि क्यान्सर अस्पतालमा समिति विवाद चुलियो


File photo of Bhaktapur Cancer Hospital. Photo: THT

सविना केसी, मध्यपुरथिमि, ४ भदौ । दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद चुलिएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाले गठन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको समिति र भक्तपुर नगरपालिकाले उक्त समिति खारेज गरेको निर्णय गर्दै नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गठन गरेको व्यवस्थापन समिति भएपछि विवाद चुलिएको हो ।

पहिलाको समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र महासचिव विमलकुमार होडाले व्यापकरूपमा अनियमितता गरेको, कमिशनमा काम गराएको आरोप लगाउँदै भक्तपुर नगरपालिकाले एक साताअघि श्रेष्ठ नेतृत्वको समिति खारेज गरेको गर्ने निर्णय गरेको थियो ।

श्रेष्ठ नेतृत्वको समिति भक्तपुर क्यान्सर अस्पतालमा जान सकेको छैन भने नगरप्रमुख प्रजापतिको नेतृत्वको समितिले अस्पतालमा गएर काम गर्न थालेको छ । पहिलाको अध्यक्ष श्रेष्ठ भने आफू नै वैधानिक अध्यक्ष भएको दावीसहित विभिन्न सांसददेखि स्वास्थ्यमन्त्रीसम्ममा पुगेर अस्पतालको अवस्थाबारे जानकारी गराउँदै भक्तपुर नगरपालिकाले गठन गरेको समितिलाई हटाउन माग गर्नुभएको छ ।

सञ्चारमाध्यममा भ्रष्टाचारका समाचार बाहिरिएको, स्थानीय बासिन्दाले लिखित ज्ञापनपत्र बुझाएपछि नगरपालिकाले यसबारे जानकारी लिन नगरप्रमुख सुनिल प्रजापतिको नेतृत्वमा लगातार दुई दिन अस्पताल पुग्दा पनि अध्यक्ष श्रेष्ठ, महासचिव होडा सम्पर्कमै नआएपछि नगरपालिकाले बैठक बोलाएर उक्त समिति खारेजको निर्णय गरेको थियो ।

नगरपालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गर्दै अध्यक्ष श्रेष्ठ नेतृत्व समिति खारेज गरी नगरप्रमुख प्रजापतिको अध्यक्षतामा नयाँ समिति गठन गरेको थियो । नयाँ समिति गठन गरेपछि बसेको बैठकले श्रेष्ठ नेतृत्व समितिले गरेको विभिन्न निर्णय खारेज गर्दै कर्मचारीको पक्षमा निर्णय गरेको थियो ।

यता पहिलो समितिका अध्यक्ष श्रेष्ठले अस्पतालमा भक्तपुर नगरपालिकाले गरेको हस्तक्षेप अवैधानिक भएको जिकिर गर्नुभएको छ । उहाँले गैरसरकारी र गैरनाफामूलक सामुदायिक भक्तपुर क्यान्सर अस्पताल स्वायत्त संस्था भएकाले नगरपालिकाको हस्तक्षेप अवैधानिक भएको जिकिर गर्नुभयो ।

उहाँले नगरपालिकाको कदमविरुद्ध अदालत जाने तयारी गरेको बताउँदै यसबारे कानूनी परामर्श भइरहेको जानकारी दिनुभयो । उहाँले भ्रष्टाचार भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रले छानबिन गर्नुपर्नेमा नगरपालिकाले हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

अस्पतालमा भएको हस्तक्षेपबारे संसद्मा बोली दिन सांसद प्रकाशमान सिंह, गगन थापा र महेश बस्नेतलाई आग्रह गरेको तथा यसबारे हिजोको संसद् बैठकमा सांसद महेश बस्नेतले नगरपालिकाको हस्तक्षेप रोक्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

अस्पतालका सम्पूर्ण कर्मचारीले नगरप्रमुख प्रजापति नेतृत्व नयाँ समितिलाई स्वागत गरेर अस्पतालमा राम्रो व्यवस्थापन आवश्यक रहेकामा नगरपालिकाले नेतृत्व लिँदा अस्पतालको संरक्षण हुने बताएका थिए ।

नगरपालिकाले समिति गठन गरेपछि पहिलो समितिका अध्यक्ष श्रेष्ठ र महासचिव होडा आजसम्म पनि अस्पताल नआएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !