८ बैशाख २०८१, शनिबार

श्रद्धाञ्जलिका लागि शव टुँडिखेलमा


rabindra

१७ फागुन, काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन उहाँहरुको शव टुँडिखेलमा ल्याइएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको छ । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको छ ।

श्रद्धाञ्जलि दिन सातै जनाको शव टुँडिखेलमा राखिएको छ । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको हो ।

शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि आज बिहान ८ बजेका लागि तय भएको थियो । श्रद्धाञ्जलि कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिने र अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने बताइएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा बिहीबार शोक प्रस्ताव पारित गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !