७ बैशाख २०८१, शुक्रबार

विवाहपञ्चमी भव्य रूपले मनाउने तयारी


Janakpur

१४ असोज, जनकपुरधाम । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान् सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउनका लागि योजना बनाउन आग्रह गर्नुभएको छ ।

जानकी मन्दिरद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री साहले महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको बताउँदै महोत्सवलाई भव्यता दिन जनकपुरधाममा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने अवधारणाबारे छलफल भइरहेको छ भन्नुभयो । उहाँले प्रदेश सरकारले महोत्सव भव्यरुपमा मनाउन रू ३० लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी पनि दिनुभयो ।

गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नुभएअनुसार जनकनन्दिनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

सीतालाई छोरी र बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा नै उपस्थितिको विश्वासले हर्ष र उल्लाससाथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुुने गरेका छन् ।

मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन भएकाले सीताराम विवाह महोत्सवमा प्रतीकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ । जानकी मन्दिरका सहमहन्त रामरोशन दासका अनुसार महोत्सवमा जनकपुर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा मनाइन्छ । छलफल कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह र सुरिता साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतले महोत्सवलाई मिथिलाको पहिचानअनुरूप मनाउनुपर्ने धारणा राख्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !