७ बैशाख २०८१, शुक्रबार

पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती छ : सभामुख महरा


krishna bahadur mahara

३ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताउनुभएको छ ।

नयाँ मिडिया प्रालिले आजदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइन (www.nayapalia.com) को शुभारम्भ गर्दै सभामुख महराले भन्नुभयो, “सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित ग¥यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।” संविधान गतिशील दस्तावेज भएकाले समय र आवश्यकतानुसार संशोधन हुँदै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सबैलाई आह्वान गर्नुभयो । सभामुख महराले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेको बताउँदै आर्थिक समृद्धिको यात्रामा अबको पत्रकारिताले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सांसद योगेश भट्टराईले संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी नयाँ कानून नआउने स्पष्ट पार्दै प्रेस स्वतन्त्रता हनन हुनेछैन भन्नुभयो । अर्का सांसद तेजुलाल चौधरीले संविधानप्रति सबैको अपनत्व गराउनका लागि ध्यान दिन आग्रह गर्दै संविधानप्रदत्त अधिकारमाथि कहीँकतैबाट अङ्कुश लगाउन नहुनेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउन नहुनेमा जोड दिँदै अबको पत्रकारितालाई थप व्यावसायिक बनाउन जरुरी रहेको बताउनुभयो ।

‘नयाँपाइला डट कम’का प्रधानसम्पादक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले आफ्नो अनलाइनले समाज रुपान्तरणमा समाचार, विचार र सूचना पाठकसमक्ष पु¥याउने जानकारी दिँदै आफ्ना लागि आफूले नै स्वनियम बनाएको बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले स्वतन्त्र पत्रकारिताले नै लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो । नयाँ मिडिया अनलाइनका अध्यक्ष श्यामलाल चौधरीले पत्रकारिता आचारसंहितालाई पालना गर्दै आगामी दिनमा आफ्नो अनलाइनले विश्वसनीय सामग्री पस्किने विश्वास दिलाउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !