८ बैशाख २०८१, शनिबार

तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर


Teej pokhara

२६ भदौ, पोखरा । 

“सुन्नुहोस दिदी बहिनी सुन्नुहोस् दाजुभाइ,
वातावरण विषयको गीत वरिलै ।
सरसफाइ शुरु गरौ टोल वासी वडाले
वातावरणमा ध्यान दिनुहोस् ठूला बडाले ।।”

महिलाका दुःख सुख, पीडा व्यथालाई गाइने तीजका गीत पछिल्ला वर्षमा समाजका विभिन्न पक्षको चित्रण गरी सन्देशसमेत दिन थालिएको छ ।

उल्लेखीत गीत हरितालिका तीजका अवसरमा वातावरण संरक्षणलाई जोड दिँदै आयोजित एक प्रतियोगिताका अवसरमा पोखरामा गाइएको हो । नेपाली महिलाको महान पर्व तीजको अवसरमा आमाहरूले गीतमार्पmत शहरमा बढेको फोहरलाई मोहरमा बदल्न सकिने सन्देश दिँदै यस्ता गीत गाउँन थालेका हुन् ।

फोहरलाई वर्गीकरणको आधारमा कुहिनेलाई घरभित्रै र नकुहिनेलाई विभिन्न आकर्षक सामाग्री निर्माण गरेर थप आम्दानीको स्रोत बनाउन थालिएको छ । प्रयोगमा नआउने वस्तुलाई गाडीमा पठाउनु पर्नेमा तीज गीत प्रतियोगिताका सहभागी आमा समूहले जोड दिएका हुन् ।

“माथिबाट ढलसँगै बगी आउने फोहर
त्यही फोहरलाई सबै मिलि बनाउ मोहर ।
कुहिने फोहोर जति करेशा बारिमा,
नकुहिने फोहोरलाई फालौ गाडीमा ।।”

फोहरबाट हुने असर एवं व्यवस्थापन विषयमा पोखरा महानगरपालिका–१७ द्वारा आयोजित अन्तर आमा समूह तीजगीत प्रतियोगितामा पर्यटकीय शहर पोखरामा दिन प्रतिदिन बढेको फोहर प्रति चिन्ता व्यक्त गर्दै न्यूनिकरण गर्न जनप्रतिनिधिलाई सचेत गराइएको थियो ।

“सबै मिलि जिताएका जनप्रतिनिधिले,
सफा राख्न सिकाउनुस् है नयाँ विधिले ।”

कतिपय आमा समूहले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने प्लाष्टिक जलाउनुभन्दा विभिन्न सजावटका सामग्री बनाएर घरमा नै सजाउन सकिने सन्देशमूलक झाँकीसमेत प्रस्तुत गरेका थिए । आ–आप्mनो पोशाकमा सहभागी प्रत्येक समूहले कुहिने र नकुहिने फोहरको वर्गीकरण, फोहोर उचित व्यवस्थापन गरिनुपर्नेमा जोड दिँदै एक घर दुई विरुवा अभियानलाई प्रभावकारी बनाउँदै वातावरण स्वच्छ राख्न गीतको भावमा समेटेका थिए । नारी शक्ति जागरण आमा समूह आँखा अस्पताल चोकका अध्यक्ष शिशिर गोदारले – १७ नं. वडा पोखराको फोहोर फाल्ने क्षेत्र बन्दै गएकोमा दुःख व्यक्त गर्नुभयो ।

“न पेटीमा बाल्टी छ न पोलमा लाइट,
१७ नं. वडा हुँदैछ डम्पिङ साइट ।।”

पोखरा शहरको दक्षिणी भेगमा अवस्थित उक्त वडामा शिरदेखि आउने भलले मरेका जनावरसहित फोहर बगाएर ल्याउने र महानगरको फोहर उठाउने गाडी समयमा नआउँदा दुर्गन्ध पैmलिएर मानव स्वास्थ्यमा असर पार्ने गुनासो छ ।

घरघर तुलसी रोप चोकमा वर पीपल,
चारैतिर सफा भए वस्छन् शीतल ।।”

कार्यक्रम संयोजक राधीका योगीका अनुसार प्रतियोगितामा वडाका १९ वटा आमा समूहले भाग लिएका थिए । फोहर व्यवस्थापन र वातावरणीय सुधारका पक्षमा आमा समूहले उठाएका समस्या समाधानका लागि सहकार्य गरेर अगाडि बढ्ने वडा अध्यक्ष तीर्थ अधिकारीले बताउनुभयो । तारे होटलमा दर खाएर गहना र कपडामा रमाएर भडकिलो नभई मौलिक सांस्कृतिक संरक्षणसहित समाज, पर्यावरणीय एवं मानव स्वास्थ्य सुधारसहित उद्यमी बन्न सन्देश दिएर तीज पर्व विस्तारै रुपान्तरित हुँदै जानुलाई महत्वका साथ हेरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !