८ बैशाख २०८१, शनिबार

राणा क्रान्तिकारी नेता हुनुहुन्थ्यो : सभापति देउवा


Sher Bahadur Deuwa शेरबहादुर देउवा

६ भदौ, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणा क्रान्तिकारी र विद्रोही स्वभावको नेता भएको बताउनुभएको छ ।

नेता स्व राणाको निधनको १३ दिनमा काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले उहाँ सम्भ्रान्त परिवारमा जन्मेर पनि समावेशी शासनको पक्षपाक्षी भएको स्मरण गर्नुभयो ।

भारतको कोलकत्तामा विद्यार्थीकालमा नै आफ्नो भेट भएको स्मरण गर्दै सभापति देउवाले स्व राणा जातभात र संस्कार नमान्ने क्रान्तिकारी नेता भएको बताउनुभयो ।

काङ्ग्रेसका पुराना अग्रज नेता राणाको गत साउन २५ गते कोलकात्तामा ९० वर्षको उमेरमा निधन भएको थियो । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइराला प्रधानमन्त्री हुनुभएको नेपालको प्रथम संसद्मा गोर्खा परिषद्को नेताको हैसियतले नेता राणा प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो ।

विसं ०१७ को प्रतिगामी कदमसँगै बिपीलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिँदै स्व राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त काङ्ग्रेसमा विलय गराउनुभएको थियो । सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वको कार्यकालमा उहाँ काङ्ग्रेस केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

सभामा नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो राजनीतिक यात्रामा स्व राणाले लेख्नुभएको पुस्तकको प्रभाव र प्रेरणा रहेको स्मरण गर्नुभयो । राणा प्रधानमन्त्री चन्द्र शम्शेरका पनाति नेता राणाको जन्म मुुलुकको आवश्यकता र आकस्मिकता भएको उल्लेख गर्दै डा भट्टराईले उहाँमा विलक्षण प्रतिभा रहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता राणा सदैव अन्यायको विरुद्धमा लड्ने समाजवादी नेता भएको स्मरण गर्दै स्व राणामा सफल नेतृत्वको खुबी रहेको चर्चा गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले ठूलो सङ्घर्ष गरेर गोर्खा परिषद् पार्टी स्थापना गरी २०१५ सालको आम निर्वाचनमा पार्टीलाई दोस्रो स्थानमा पु¥याउन सफल भएको भन्दै स्व राणाको प्रशंसा गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्र) का अध्यक्ष पशुपति शम्शेर राणाले काङ्ग्रेस नेता भरत शम्शेर राणा सङ्घर्षशील हक्की स्वभावका भएको स्मरण गर्दै उहाँमा प्राकृतिकरुपमै प्रतिपक्षी दलको नेताको स्वभाव रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्व राणाका दौतरी हिमालय शम्शेर राणा र कान्छा भाइ सागर शम्शेर राणाले उहाँ सदैव लोकतन्त्रप्रति प्रतिबद्ध प्रजातान्त्रिक समावादी नेता भएको स्मरण गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !