७ बैशाख २०८१, शुक्रबार

शैक्षिक सुधारका लागि सहकार्य गरिँदै


Nepalpatra

२८ साउन, पर्वत ।  पर्वतको कुस्मा र फलेवास नगरपालिकामा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिको लागि काठमाडाँै विश्व विद्यालयसँग सहकार्य गरीने भएको छ ।

कुस्मा र फलेवास नगरपालिकाले नगरभित्र शैक्षिक कार्ययोजना निर्माण तथा गुणस्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्य गर्ने निष्कर्ष निकालेका हुन् ।

कुस्मा नगरपालिका र फलेवास नगर कार्यपालिकाको आयोजना र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा गरिएका छुट्टाछुट्टै कार्यक्रममा दुवै नगरपालिकाभित्रको शैक्षिक क्षेत्रको अवस्था, आवश्यकता तथा विद्यालयको गुणस्तर वृद्धिका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्यको आवश्यकता औँल्याएका छन् । दुवै नगरपालिकाले छिट्टै समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले बजेटको ठूलो हिस्सा शिक्षाका क्षेत्रमा विनियोजन गर्दैै आएको र गुणस्तर अभिवृिद्धका लागि हरेक क्षेत्रमा सहकार्य गर्ने गरी काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्ने तयारी भएको बताउनुभयो ।
कुस्मा नगरपालिकाका सामाजिक समितिका संयोजक तथा वडा नं ११ का अध्यक्ष शिवप्रसाद पौडेलले पनि नगरको शैक्षिक अवस्था सुधारका लागि केयुसँग सहकार्य गर्ने तयारी भएको बताउनुभयो ।

शैक्षिक सुधारको लागि शिक्षक, अभिभावक, समुदाय र शैक्षिक सङ्घ संस्थाबीच आपसी, सहकार्य समन्वय, र साझेदारीको आवश्यकता रहेको काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्सका सहायक डिन प्रा डा बालनन्द लुइँटेलले बताउनुभयो ।
काठमाडाँै विश्वविद्यालयका प्रा डा लक्ष्मण ज्ञावलीले एउटा विद्यालय सुधारका लागि सबैभन्दा बढी भूमिका प्रधानाध्यापकको हुने भएकाले प्रअको भूमिका प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले शैक्षिक नीति निर्माण तथा कार्यान्वयनमा पनि विद्यार्थी तथा समुदायको सहभागिताबाट मात्रै लक्ष्य प्राप्त गर्न सहज हुने बताउनुभयो ।

यस्तै अर्का सहायक प्रा डा धनपति सुवेदीले शैक्षिक सुधारको लागि समुदायलाई शैक्षिक क्षेत्रमा जोड्नु पर्ने विचार व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !